दाङ – थारू समुदायको भाषा, कला, साहित्य, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ द्वारा प्रकाशित ‘स्मारिका–२०८३’ एक विशेष समारोहबीच विमोचन गरिएको छ । सोही अवसरमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि जापानी साथीहरूको आर्थिक सहयोगमा ३ लाख ९० हजार ५०० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ का अध्यक्ष गोकुलप्रसाद चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार राजेन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्मारिकाको औपचारिक विमोचन गरिएको हो । कार्यक्रममा थारू समुदायका अगुवा, विभिन्न क्षेत्रका सरोकारवाला तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।
स्मारिका विमोचनका क्रममा वक्ताहरूले थारू समुदायको मौलिक भाषा, कला, साहित्य, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण गर्नु आजको आवश्यकता भएको बताएका थिए। समुदायको इतिहास, सामाजिक योगदान र संस्थागत गतिविधिलाई लिखित रूपमा अभिलेखीकरण गर्दा भावी पुस्तालाई आफ्नो मौलिक पहिचान र पुर्खाको इतिहासबारे जानकारी प्राप्त हुने उनीहरूको भनाइ थियो ।
आधुनिकता र बदलिँदो सामाजिक परिवेशका कारण मौलिक भाषा, संस्कार र संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा स्मारिका प्रकाशनले नयाँ पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा जापानी साथीहरूको आर्थिक सहयोगमा भोटेकोशी बाढीपीडितका लागि ३ लाख ९० हजार ५०० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी गराइएको थियो । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले गरिएको उक्त सहयोगले अन्तर्राष्ट्रिय मित्रता, मानवीय संवेदना र आपसी सद्भावको सकारात्मक सन्देश दिएको संस्थाले जनाएको छ । सहयोग गर्ने जापानी साथीहरूप्रति संस्थाले आभारसमेत व्यक्त गरेको छ ।
समुदायको भाषा, साहित्य र सांस्कृतिक सम्पदाको संरक्षणसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने कार्यले संस्थाको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ । संस्कृति संरक्षण र मानवीय सेवालाई सँगसँगै अघि बढाउने उद्देश्यले यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । संस्थाकी कोषाध्यक्ष प्रभावती कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव यमबहादुर चौधरीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्