काठमाडाैँ– नेपाली कांग्रेसका सांसद गगन थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हरेक वर्ष मल आयातका लागि बजेट छुट्याए पनि मल आयात हुन नसकेपछि अब संरचना नै परिवर्तन गर्नुपर्ने बताए।
सरकारले किसानलाई मल नदिने र सीमापारबाट ल्याएको मल खोसेर बहादुरी देखाउने गरेको टिप्पणी गरेका सांसद थापाले मल आयात गर्ने संरचना नै परिवर्तन गर्नुपर्ने बताए।
उनले भने, ‘सरकारले मल उपलब्ध गराउन नसक्दा पीडा भोगेका किसानको आँशुले पोल्नेछ। पैसा छ, मल छैन। पैसा भएर पनि मल आयात गर्न वर्षाैँदेखिको संरचना अब परिवर्तन गर्नुपर्छ।’
नेपाललाई १२ लाख ८६ हजार मेट्रिक टन भएपनि अतिआवश्यक पाँँच लाख २० हजार मेट्रिक टन मल पनि सरकारले उपलब्ध गराउन नसक्नु सरकार र राजनीतिज्ञ सबैको असफलता भएको उनको भनाइ छ।
‘अहिले मात्र होइन, पहिलेदेखि सधैँ नै मल अभाव हुँदै आएको छ,’ थापाले भने, ‘मल आयात गर्न नसक्नु हामी सबैको सामूहिक असफलता हो।’

प्रतिक्रिया दिनुहोस्