दाङ – बाघ नियन्त्रणका लागि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको बर्दियाको मधुवनमा पीडित र स्थानीय प्रशासनबीच सहमति जुटेको छ।
स्थानीय प्रशासन र पीडितका बीचमा सहमति भएसँगै तीन दिनदेखि अवरुद्ध रहेको गुलरिया–राजापुर सडक खुलेको छ। जेठ २३ गते खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरेर घाइते बनाएपछि आक्रोशित बनेका स्थानीयले ओराली बजारमा चक्काजाम गरेका थिए। त्यसलाई खुलाउने क्रममा प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर १८ वर्षीया नवीना थारुको मृत्यु भएको थियो। त्यसपछि स्थानीयले आन्दोलन चर्काएका थिए। ढोढरीस्थित प्रहरी कार्यालयमा बसेको प्रशासन, प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल र पीडित परिवारका बीचमा भएको सहमतिअनुसार मृतकका परिवारलाई २० लाख क्षतिपूर्तिका लागि गृह मन्त्रालयसँग अनुरोध गर्ने, उपयुक्त स्थानमा शालिक बनाउने, मृतकका परिवारलाई रोजगारीका लागि पहल गर्ने, घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, अंगभंग भएमा अपांग सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने छ।
छलफलमा सांसद सन्तकुमार थारु, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मधुवन नगरपालिका प्रमुख चेतबहादुर भाटलगायत पीडित परिवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो। बर्दिया घटनाको छानबिन गर्न गृहमन्त्रालयले छुट्टै टोली बनाएको छ। उक्त टोली अहिले बर्दियामै छ।

प्रतिक्रिया दिनुहोस्