दाङ – नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज लमही आँखा अस्पतालको आयोजनामा ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ‘ छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा बिस्तार गर्नु पर्ने बताउनु भयो । बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगन्जबाटै सेवा पाउने गरि सेवा प्रवाह गरिनु पर्ने उहाँको तर्क छ ।
आँखा अस्पतालले हालसम्म गरेका कामहरु स्रहानिय भएको उल्लेख गर्दै यो अस्पतालमाको विकासका लागि प्रदेशका सबै जनप्रतिनिधिले आर्थिक रुपले पनि सहयोग गर्नु पर्ने उहाँले बताउनु भयो । अस्पतालको स्तरउन्नतिका लागि जिल्ला समन्वय समिति साथमै रहेको उहाँको भनाई छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लमही आँखा अस्पतालमा आँखाका साथै नाक कान घाँटीको उपचार गर्ने अस्पतालको रुपमा विकास गर्नु पर्ने आवश्यकता भएको बताउनु भयो । सेवामुखी र प्रभावकारी सेवा प्रदान गर्न अस्पतालमा प्रशासनलाई आग्रह गर्नु भयो ।
नगर प्रमुख जोगराज चौधरीले लमही आँखा अस्पताल सेवा बिस्तारका क्रममा पछी नहट्न अनुरोध गर्दै अस्पतालको व्यवस्थापनका लागि लमही नगरपालिका सधै सकारात्मक रहेको बताउनु भयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, लमही नगरपालिका -५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, गढवा गाउँपालिका- ५ का वडा अध्यक्ष लेख बहादुर थापा, राजपुर गाउँपालिका- २ का वडा अध्यक्ष ओम प्रकाश यादव लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
नेपाल नेत्रज्योती संघ दाङका निवर्तमान उपसभापति तथा भर्खरै सम्पन्न भएको अस्पतालको निर्वाचनमा निर्वाचित सदस्य रेशम बहादुर खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सम्शेर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्