लमही नगरपालिकाद्वारा कोइलाबासमा पानी वितरण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २ असार २०८०, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले संकटमा परेका बेला सहयोग गर्नु मानवताको धर्म भएको बताउनु भएको छ । नगरपालिकाको दमकलबाट ४ हजार लिटर खानेपानी लिएर शनिबार कोइलाबास पुग्नु भएका नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो । ‘भूगोल र परिवेशका आधारमा हामी जहाँ रहेता पनि सक्दो सहयोग गर्नु पर्छ, यहि नै हामी मानवजातिको पहिचान हो’- नगर प्रमुख चौधरीले भन्नु भयो ।

त्यस्तै वडा नम्बर-१ का वडाध्यक्ष दामोदर पौडेल र वडा नम्बर-३ का वडाध्यक्ष मनोज कुमार चौधरीले खानेपानी नपाएर काकाकुल बनेका कोइलाबासबासीका समस्यालाई गाउँपालिका सम्बोधन गर्नु पर्ने बताउनु भयो । सानातिना समस्यालाई सहजीकरण गर्दै जनतालाई सेवा दिनु पर्ने उहाँहरुको भनाई छ । विद्युत महशुल नतिर्दा लाइन काटिएको कुरालाई जोड्दै नगरपालिकाबाट सक्दो आर्थिक सहयोग गर्न पहल गर्ने बताउनु भयो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, वडा नम्बर-१ का वडाध्यक्ष दामोदर पौडेल, वडा नम्बे-३ का वडाध्यक्ष मनोज कुमार चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पानीको दमकल सहित कोइलाबास पुग्दा त्यहाँका स्थानीयहरू पानी भर्नकै लागि लामबद्द भएर बसिरहेका थिए ।

खालि भाँडाहरु बाटोमा लस्करै राखेका कोइलाबासबासीहरु पानी पाउँदा खुशी भएका छन् । पानी घर घरमा पुर्याउनु हुने सहयोगी दाताहरुलाई कोइलाबासबासीले धन्यवाद समेत प्रकट गरेका छन् । गढवा गाउँपालिका-८ का वडाध्यक्ष खालिक सिद्दिकीले संकटको बेला सहयोग गर्नु भएको भन्दै आभार व्यक्त गर्नु भएको छ । हामीले यति बेला संकटको घडीसंग जुधिरहेका छौं, सहयोग गर्नु हुने सबैलाई स्वीकार गर्नु बाहेक अरु विकल्प नभएको वडाध्यक्ष सिद्दिकीले भन्नु भयो ।

केहि दिन यता गढवा गाउँपालिका-८ कोइलाबासमा खानेपानीको चरम अभाव भएको छ । बैशाख जेष्ठ महिनामा पानीको मूल सुक्दा कोइलाबासमा पानीको हाहाकार हुने गर्दछ । त्यहाँ स्थित रहेको कोइलाबास खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले विद्युतको महशुल नतिर्दा लमही विद्युत प्राधिकरणले लाइन काटि दिएको छ । लमही विद्युत प्राधिकरण शाखाका प्राविधिक प्रमुख कमल पुनका अनुशार २७ हजार ७ सय ९३ रुपैयाँ वक्यौता रकम रहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्