विपत व्यवस्थानका लागि लमही नगरपालिकाले थाल्यो पुर्व तयारी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ६ असार २०८०, बुधबार
3 Min Read
Aa

दाङ – जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा मुलुकका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो । तर नेपालमा मनसुन भित्रिएको एक साता समेत नपुग्दै पूर्वी पहाडी जिल्लामा परेको भारी वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । २६ जना बेपत्ता छन् । ५४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

यसैविच लमही नगरपालिकाले पनि विपत न्यूनीकरणको लागि शुरुवात गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म वडा अध्यक्ष संयोजक रहने गरि वडा स्तरिय विपत व्यवस्थापन समिति गठन गरेको छ । लमही नगरपालिकाका सबैजसो वडाहरु डुबान हुने क्षेत्र हुन्। प्रत्येक वर्षको वर्षायाममा वडाबासीले समस्या झेल्नु पर्ने बाध्यता छ ।

शुरुवाती चरणमा विपतबाट मानिसलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर सरोकारवाला निकायसंग व्यापक छलफल थालेको छ । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले मनसुन सक्रिय हुन लाग्दा पूर्वतयारीका बारेमा सुरक्षा निकाय, सबै वडामा रहेको विपत समिति, जनप्रतिनिधि, सरोकारवालालाई राखेर पुर्व तयारीका बारेमा छलफल गरेको हो।

विपत आउँदा बाजा बजाएर नआउने भएकोले नगरबासीको सुरक्षाका लागि सबै अलर्ट भएर बस्न सबै सरोकारवाला निकायलाई नगर प्रमुख चौधरीले आग्रह गर्नु भएको छ । ‘वर्षायाम शुरु भैसकेको छ, पुर्वीनेपालमा ठुलो संख्यामा मानविय क्षति भएको हामी सबैलाई थाहै छ, गएको दशैँ तिहार ताका मानविय क्षति नभएपनि सास्ती धेरै पायौं, भोग्यौं, त्यसकारण हाम्रो गाउँ ठाउँमा त्यस्ता घटना हुन् नदिन सबै सतर्क रहौं’- प्रमुख चौधरीले भन्नु भयो ।

सकेसम्म विपतमा कोहि नपरौं, यदि परिहालेमा नगरपालिका वा मातहतका निकायमा जानकारी गराउन समेत सबैलाई नगर प्रमुख चौधरीले अनुरोध गर्नु भएको छ । अबरुद्द भएका सडक खुलाउने देखि लिएर विद्युत आपूर्ति, खानेपानी, खाद्यान्न जस्ता अत्यावश्यक राहत प्याकेजको बन्दोबस्त सबै स्थानीय सरकारले गर्छ’- उहाँले भन्नु भयो । साथै विपतका बेला सहयोग गर्न दाताहरुले नगरपालिकासंग समन्वय गर्न सक्ने पनि उहाँले जानकारी गराउनु भयो ।

त्यस्तै पालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा रहेका खोज तथा उद्धारका सामग्रीहरू सशस्त्र प्रहरी बल, नेपाल नं ४१ रिजर्भ गण हेक्वा चन्द्रौटा, कपिलबस्तु, अर्जुनखोलामा भण्डारण गर्ने विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले जानकारी दिनु भयो । थापाका अनुशार वर्षायाम शुरु भएसंगै जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरुको खोज तथा उद्दारका लागि नगरपालिकामा रहेका सवारी साधन चौबिसै घण्टा सेवा दिन सक्ने गरि तयारि अवस्था राख्ने भएको छ ।

१२ लाख प्रभावित हुनसक्ने अनुमान

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक मनसुनजन्य विपद्‍बाट १२ लाख ५४ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरेको छ । प्रदेशगतरुपमा सबैभन्दा बढी कोशीमा ३ लाख १ हजार र सबैभन्दा कम कर्णालीमा करिब ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने प्राधिकरणको अनुमान छ ।

मधेशमा ४ लाख ३ हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४ जनसंख्या प्रभावित हुनसक्ने अनुमान छ । लुम्बिनीमा १ लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूपश्चिममा १ लाख ४७ हजार ६० जना प्रभावित हुने अनुमान छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्