दाङमा डेंगु संक्रमण बढ्दै, अहिलेसम्म ५५ जनामा संक्रमण पुष्टि

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३२ श्रावण २०८०, बिहीबार
3 Min Read
Aa

दाङ – जिल्लामा अहिलेसम्म ५५ जनामा मानिसमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा २९ र गढवा गाउँपालिकामा १३ जना गरि ५५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

पालिकाहरुले दिएको विवरण अनुशार सबै उमेरका महिला तथा बालबालिका र पुरुषहरुमा डेंगु संक्रमण भएको चन्दले बताए । हालसम्म डेंगु संक्रमणबाट कसैको मृत्यु भैसकेको जानकारी आएको छैन, तर दाङ जिल्लामा पनि डेंगु रोग बिस्तारै फैलिरहेको छ, भदौ र असोजमा ह्वात्तै बढ्न सक्ने देखिन्छ’– फोकल पर्सन चन्दले भने ।

अनुशार डेंगु रोक नियन्त्रणका लागि थुप्रै कार्यक्रम भैरहेका छन । हामीले कार्यालयमा एक जना फोकल पर्सन भनेर तोकेका छौं, उहाँले जिल्लाका दशवटै पालिकाहरुका स्वास्थ्य शाखाहरुसंग व्यापक छलफल र समन्वय गरि रहनु भएको छ” जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बर कंवरले भने । हामीले हाम्रो तर्फबाट पनि सक्दो पहल गरेका छौं, महामारी रुपमा फैलिन नदिन हामीले पनि सतर्कता चाहिं अपनाएकै छौं’– कंवरले भने ।

हालसम्म ८ जनाको मृत्यु
अहिलेसम्म देशभर डेंगुका कारण ८ जनाको ज्यान गैसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडीसीडीको तथ्यांक अनुसार गत पुसदेखि असार ३० सम्म आइपुग्दा २ हजार ९३० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । एक महिनायता डेंगु संक्रमित पाँच गुणाले बढेका छन् । २६ साउनसम्म १२ हजार ४९९ संक्रमित पुगेसँगै ७४ जिल्लामा डेंगु फैलिसकेको छ । जसमध्ये ६ हजार ६६७ सुनसरी जिल्लामा मात्रै छन् । सरकारी तथ्यांक अनुसार हालसम्म आठ जनाको मृत्यु पनि भइसकेको छ । इडीसीडीका अधिकारीका अनुसार भदौं महिनामा उच्च गतिमा फैलिने र कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहने छ ।

डेंगु रोग बाट कसरी बच्ने ?
डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।
पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ ।
एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्