दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीसंग समग्र नगरपालिकाको विकास निर्माण, भावि योजना, स्वास्थ्य, शिक्षा, रोजगारका विषयमा कुराकानी गरेका छौं। प्रस्तुत छ नगर प्रमुख चौधरीसंग गरिएको कुराकानी ।
१ – प्रमुख ज्यु, यहाँलाई स्वागत छ, जनताका आवश्यकता कत्तिको पुरा भए ?
तपाईलाई पनि धन्यवाद, सबै कामहरु क्रमश हुँदै जाने हुन्, एकै पटक सम्भव छैन। पहिलो वर्ष भएकाले सोचे जति गर्न नसके पनि केही काम सुरु गरेका छौँ । शिक्षा ऐन लगायत ऐन कार्यविधि एवम् मापदण्ड निर्माण ग¥यौँ । पूर्वाधार विकासतर्फ नगर क्षेत्रमा धमाधम कच्ची सडकहरु पक्की नालासहितको कालोपत्रे भइरहेका छन् । वडा कार्यालयका भवनहरु निर्माणकार्य सम्पन्न, नदीजन्य पदार्थलाई उचित तवरबाट व्यवस्थापन गरिएको छ । सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख रहेको छ । अव लालपुर्जा वितरणको तयारी भइरहेको छ । राजस्वको दायरा फराकिलो गरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि गर्ने तयारी भइरहेको छ ।
२- योजनाका कामहरु कत्तिको प्राथमिकता पाएका छन ?
हामीले पालिका भित्र रहेका वडाहरुमा कुन योजना अहिलेको आवश्यकता हो ? अध्ययन गरेर योजना छुट्याउने गरेका छौं। स्थानीय तहमा निर्वाचित भएर आएदेखि नगरको सम्पूर्ण वडाहरुमा विकासका कामहरु तिब्र गतिमा अगाडि बढाइरहेका छाँै । यहाँको पहिलो आवश्यकता गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा नै हो । दोस्रो यहाँका किसानलाई व्यावसायिक बनाउनुपर्ने छ र कृषि उत्पादनको बजारीकरण गर्नुपर्छ । तेस्रो नगरपालिकाभित्रै सरल, सुलभ, निःशुल्क स्वास्थ्य सेवा आवश्यक छ । सबै वडाका दुरदराजका बस्तीमा नगर सरकारको अनुभुती हुने गरि विकासका कामहरु अगाडी बढेका छन् । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेका कतिपय विषयमा स्पष्ट कानुन एवम् सहकार्यको अभावले गर्दा जनसरोकारका योजनालाई सम्बोधन गर्न लगानीको अभाव छ ।
३- लमही–कोइलाबास हुलाकी सडक विस्तार किन हुन् सकेको छैन ?
राम्रो प्रश्न सोध्नु भयो, यो विषयमा मैले पहिले पनि मिडियामा बोलेको छु। यो काम शुरु भयो भने मैले मेरो घर भत्काएर गर्नेछु भनेर । तर केहि प्राविधिक समस्या भएका कारण काम अगाडी बढ्न सकेको छैन। अब तत्कालै लमही नगरपालिकामा सर्वदलिय बैठक बोलाएर बृहत् छलफल गर्छौँ । बैठकले जे निर्णय गर्छ त्यहीँ निर्णयलाई टेकेर अगाडि बढ्छौँ । संरचना भत्काएर मात्रै हुदैन, नयाँ संरचना निर्माणको लागि आवश्यक बजेट छैन । बजेट अभाव भएकै कारण लमही–कोइलाबास हुलाकी सडक विस्तार गर्न नसकिएको हो ।
४- पर्यटन प्रवर्द्धनतर्फ भएका कामहरु बताई दिनुस्न।
धार्मिक पर्यटनतर्फ लमही नगरपालिका वडा नम्बर ९ मा रहेको बगार बाबा धार्मिक विकास क्षेत्र रिहारलाई व्यवस्थित गर्ने र पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामको रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आबद्ध गरिने छ । यस क्षेत्रका पर्यटकिय स्थल, धार्मिक तथा सांस्कृतिक स्थल र बस्तुहरूको विविधिकरण गर्दै कृषि पर्यटन, जल पर्यटन र खेल पर्यटनको रूपमा विकास गरि पर्यटन क्षेत्रमा रोजगारी बृद्धि गरिने छ । त्यसैगरी लमही बजारमै रहेको अजम्मरी सामुदायिक वनभित्र रहेको जैविक विविधता ग्रिन पार्क, जखेराताल लगायतलाई आवश्यक बजेट विनियोजन गरि पार्कलाई लुम्बिनी प्रदेशकै नमुना पार्कको रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।
५- कृषि तथा पशु पालकका लागि बजारीकरण समस्या छ, यसमा नगरपालिकाको भूमिका के छ ?
हामीले नगरका वडालाई विभिन्न चरणमा वर्गीकरण गरेका छौं। कुनै वडालाई बाख्रा पालन भनेर, कुनै वडालाई लोकल कुखुरा उत्पादन, कुनै वडालाई काठे सुँगुर उत्पादन क्षेत्र बनाएर अलग अलग रुपमा कार्यक्रम लागु गरेका छौं। किसानलाई पशु र कृषिमा पनि अनुदान दिएका छौं। सिमित स्रोतसाधन भएकाले सबै आवश्यकता एकैचोटी पूरा गर्नसक्ने अवस्था छैन । कृषि क्षेत्रमा सिंचाइको समस्या तत्काल नियन्त्रण गर्नुपर्ने चुनौती छ । यसलाई समाधान गर्न नगरपालिकाले प्रयास गरेको भए पनि पर्याप्त हुन सकेको छैन । कृषिजन्य वस्तुको बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौँ । यहाँका बाटा पूर्वाधार व्यवस्थित गर्नुपर्ने छ । यी समस्या समाधान नगर्दा समस्या झन् बढ्छ । यी समस्या समाधानका लागि हामी काम गरिरहेका छौँ ।
६- पालिकालाई संघीय र प्रदेश सरकारको सहयोग छ ?
सहयोग नभएको होइन, सहयोग भएकै छ तर, हामीले सोचेको जस्तो केन्द्र र प्रदेशबाट अहयोग हुन सकेको छैन । त्यसमाथि पनि अहिले नयाँ आर्थिक वर्षको बजेट ह्वात्तै घटेर आएको छ । संघ र प्रदेशसंग सहकार्य नगरी अगाडि बढ्न सक्ने विकल्प नै छैन । हाम्रा माग धेरै हदसम्म सम्बोधन भइरहेका छन ।
७- नगरको समृद्धिका लागि दिर्घकालिन योजना के कस्ता छन् ?
हाम्रो लमही नगरपालिकाभित्र प्रसस्तै सम्भावनाहरु रहेका छन् । अव हामीले यससवर्ष देखि अलि कडाईका साथ आन्तरिक राजश्व वृद्धि गर्ने र पर्यटकीय पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदारी गरी अगाडि बढाउने लक्ष्य रहेको छ । कृषि क्षेत्रलाई आधुनिकीरण गरी युवा कृषि उद्यमीलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएका छौँ । शिक्षालाई यस आर्थिकवर्षमा राष्ट्रसेवक कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि पहल गरिने नीती ल्याएका छौँ । सामुदायिक विद्यालयहरुले प्रदान गरेको सेवाको कदर गर्दै खस्कँदै गइरहेको शैक्षिक गुणस्तरलाई उकास्ने नीति ल्याएका छौँ । त्यसैगरी लोपोन्मुख, अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि स्नातक तहसम्म शिक्षा क्रमश निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने र गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि एम.वि.वि एस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएका छाँै ।
८- अन्त्यमा केही छुट्यो की ?
नगरको विकासमा सबैको सहयोग उतिकै चाहिन्छ । म एक्लैले केही गर्न सकिदैन । यहाँका जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकार, स्थानीय नगरबासीहरुको पूर्णरुपमा यस्तै सहयोग भइरहेमा नगरमा विकास तिब्र गतिमा बढिरहन्छ । मलाई मेरो विचार र नगरका समग्र गतिविधि राख्ने जुन एउटा अवसर दिनुभयो, त्यसको लागि हजुर लगायत हजुरको मिडियालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । अन्य दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस्