दाङ – लमही नगरपालिकाले सरकारी सेवा प्रवेश गरेका कर्मचारीलाई स्वागत र सेवा निवृत्त हुनु भएका कर्मचारीलाई विदाई गरेको छ ।
लमही नगरपालिकाको शिक्षा शाखा प्रमुख भएर लामो समय सेवा प्रदान गर्नु भएका अधिकृत स्तर नवौं रवीन्द्र क्षेत्री, स्वास्थ्य शाखामा रहेर लामो सेवा प्रदान गर्ने सिअहेव अधिकृत स्तर छैटौं लालमणी सुवेदी, लोकराज पौडेल र लमही अस्पतालमा लामो समयसम्म सिअनमी अधिकृत स्तर छैटौंका रुपमा सेवा प्रदान गर्नु भएका तुलसा सुवेदी र लमही अस्पतालमा लामो समय कार्यालय सहयोगीको रुपमा काम गर्नु भएका मनमोहन चौधरीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै विदाई गरिएको हो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नगरपालिकाबाट बिदाई भएर जान लाग्नु भएका विषयगत शाखा प्रमुखहरुको सेवा अविस्मरणीय भएको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समय सेवा प्रदान गर्नु भएका कर्मचारीहरु विदाई भएर जाँदा आफुलाई दु:ख लागेको बताउनु भयो ।
त्यसैगरी सरकारी सेवामा प्रवेश गरि नगरपालिकामा आउनु भएका नयाँ कर्मचारीले अनुशाशित, मर्यादित भएर जनताको सेवा गर्ने तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले विदाई भएर जान लाग्नु भएका कर्मचारीहरुले पालिकामा रहदा सम्म संतोषजनक काम गरेको भन्दै उच्च प्रसंसा गर्न लायक रहेको बताउनु भयो । आफ्नो काम र कर्तव्यको पालना गरि नगरबासीलाई सेवा प्रदान गर्नु भयो, सेवा निवृत्त भए पनि सामाजिक जीवन सुखद रहोस भन्दै शुभकामना दिनु भएको छ ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले विदाई भएर जान लागेका कर्मचारीले जागिरे जीवन अवधिभर सिकाई र भोगाईका धेरै सकारात्मक कुराहरु बोल्नु भएको छ, ती बोलिहरु साच्चिकै उर्जावान छन, त्यस कारण उहाँहरुले बोलेका कुरालाई अनुशरण गर्न पालिकामा कार्यरत कर्मचारीले मनन गर्नु पर्छ”- श्रेष्ठले भन्नू भयो ।
विदाई तथा स्वागत कार्यक्रममा लमही नगरपालिका- ६ का वडा अध्यक्ष श्यामनारायण चौधरीले नगरपालिका र पालिका मातहतमा रहेका संस्थाहरुमा उहाँहरुले योगदान पुर्याएको र आगामी दिनमा पनि नगरपालिकाकाकै हितमा काम गर्न सुझाव दिनु भयो ।
सेवा निवृत्त हुनु भएका सिअहेव अधिकृत स्तर छैटौं लालमणी सुवेदी र लोकराज पौडेलले जागिरे जीवनबाट प्राप्त गरेका सिकाइलाई सामाजिक क्षेत्रमा लागू गरि सेवा प्रवाह गर्ने बताउनु भयो ।
सरकारी सेवा प्रवेश गरि लमही नगरपालिकामा आउनु भएका तीन जना कर्मचारीलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट कृषि सेवामा नाम निकाली लमही नगरपालिकामा आउनु भएका कृषि प्राविधिक पाचौं स्तर कमलराज विसी, प्रशासन पाचौं स्तर तर्फ संझना कुमारी शाही र मन्जिता चौधरीलाई स्वागत गरिएको हो ।
सेवा प्रवेश र सेवा निवृत्त हुनु भएका कर्मचारीलाई नगरपालिकाले आज बिहिबार एक कार्यक्रमको आयोजना गरि सरकारी सेवाबाट निवृत्त हुनु भएका चारजनालाई सहित विदाई गरेको हो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्