नगरपालिकालाई सुशासन युक्त राख्न नगरबासीको साझा दायित्व हो- नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ माघ २०८०, आईतवार
4 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगरपालिकालाई सुशासन युक्त राख्न आम नगरबासीको साझा दायित्व र जिम्मेवारी भएको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगंजले शनिबार लमही नगरपालिकामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धि लमही नगर पालिका स्तरिय कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

एकले अर्कालाई दोषारोपण गर्दैमा समस्याको समाधान नहुने उहाँको भनाई थियो । जनप्रतिनिधि जनताको सेवक भएकोले मतदाताले विश्वास गरेर छनोट गरेको प्रतिनिधिले जनतालाई दिने सेवामा केही कमजोरी वा तलमाथी भए त्यस्ता कामको बिरोध र खबरदारी गर्दै सहि बाटोमा डोर्‍याउने अधिकार आम नगरबासीलाई छ उहाँले भन्नुभयो । आउनुहोस कहाँ कमजोरी भएको छ बसेर छलफल गरौ ,कमजोरी सच्च्याउ , नगरको विकासमा साझा धारणा बनाऔं, साझा सोच र सहकार्यबाट नगरपाकिलालाई सुशासन र समृद्ध बनाउन सकिन्छ । नगर र समुदाय स्तरमा छनोट भएका र छनोट हुने योजना र कार्यक्रमको प्रभावकारिताका लागि समुदाय स्तरका उपभोक्ता स्वयम सचेत हुन आबश्यक छ’ प्रमुख चौधरीले भन्नु भयो ।

सो अबसरमा पत्रकार चुमा आचार्य, दिवाकर पोख्रेल, देउखुरी उद्योग वाणिज्य संघ लमहीका पुर्व अध्यक्ष शोभाकर घिमिरे, पुर्व शिक्षक पदम प्रसाद योगी लगाएतले स्थानीय तहहरुमा नितिगत भ्रष्टाचार बढ्दै गएकाले यसलाई रोक्नका लागी स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगजका प्रमुख गणेश कार्की र आयोगका ईन्जिनियर लक्ष्मण बहादुर केसीले प्रशिक्षण दिनुभएको थियो । आयोगका प्रमुख गणेश बहादुले कार्कीले कतिपय अबस्थामा अन्जानका कारण पनि नितिगत भ्रष्टाचार हुने गरेकोले सो सम्बन्धि स्थानीय तहहरुलाई सचेत बनाउनका लागि आयोगले पालिका स्तरमा भ्रष्टाचार नियनत्रण सम्बन्धि अन्तरक्रिया शुरु गरेको बताउनु भयो । उहाँले नियतबस भन्दा भुलबस हुने भ्रष्टाचारलाई रोक्न सकिने बताउनु भयो । योजना निर्माण देखि कार्यान्वयनको चरण सम्म सुशासन कायम राख्न पालिका स्तरका सरोकारवालाहरुसंग छलफल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अबसरमा भ्रष्टाचारको परिचय, भ्रष्टाचार हुनुका कारणहरु, भ्रष्टाचार नियन्त्रणको आबश्यकता, भ्रष्टाचारनियन्त्रणका लागि विद्यमान संबैधानिक ब्यबस्थाको बारेमा प्रशिक्षण आयोगका प्रमुख कार्कीले दिनुभएको थियो । त्यसै गरि आयोगका ईन्जिनियर लक्ष्मण केसीले संघ प्रदेश र स्थानीय तहहरुमा भएका भ्रष्टाचारको तथ्यगत विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत विवरणका अनुसार स्थानीय तहहरुमा भ्रष्टाचारका उजुरीहरुको चाप बढदै गएको देखिएको छ । जस अन्तर्गत दाङ जिल्लाका दुई सय २८ वटा उजुरी अख्तियारमा छन् । ति मध्य गत आर्थिक वर्षका एक सय नौ र यो आर्थिक वर्षका एक सय उन्नाईस गरेर दुई सय अठ्ठाईस वटा उजुरी अख्तियारमा परेको र परेका उजुरी मध्य गत आर्थिक वर्षमा ४४ र यस आर्थिक वर्षमा ५२ वटा उजुरी फच्र्योट भएको प्रस्तुत विवरणमा उल्लेख छ ।

प्राप्त विवरण अनुसार दाङका गत आर्थिक वर्षका ६५ र यस आर्थिक वर्षको ६७ उजुरीहरु किनारा लाग्न बाँकी छन् । घोराही उपमहानगरपालिकाको कुल विस उजुरी मध्य १३ उजुरी किनारा लाग्न बाँकी छन भने गढवा गाँउपालिकाको कुल सत्र उजुरी मध्य एघार, लमही नगरपालिकाको ११ उजुरी मध्ये ६ वटा फ़र्च्यौट भएका छन् भने ५ वटा बाँकी छन् । दंगीशरण गाँउपालिकाको कुल १६ उजुरी मध्य ६, राजपुर गाँउपालिकाको १३ उजुरी मध्य ६ र तुलसीपुर उपमहानगरपालिकाको कुल १३ उजुरी मध्य ८ वटा फ़र्च्यौट हुन बााकी रहेको छ । त्यसैगरि बंगलाचुली गाँउपालिकाको ८ उजुरी मध्य ४, शान्तिनगर गाँउपालिकाको ८ उजुरी मध्य ५, बबई गाँउपालिकाको ५ उजुरी मध्य ४, र राप्ती गाँउपालिकाको ४ उजुरी मध्य २ वटा उजुरी फ़र्च्यौट हुन बाँकी रहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्