दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षाका लागि कडाईका साथ लाग्नु पर्ने बताउनु भयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाई दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले गुणस्तरीय शिक्षा मात्र भन्ने तर व्यवहारमा कसैले लागू नगर्दा शिक्षाको गुणस्तर खस्किदै गएको बताउनु भयो ।
अभिभावकहरु बालबालिकालाई विद्यालय पठाएर आनन्दसंग घर बस्ने गर्दछन, मेरो बच्चाले स्कुल गएर पढेको छ कि खेलेको छ कि कतै गलत काममा लागि रहेको छ त्यो बारे कसैले ध्यान दिएको जस्तो लाग्दैन”- प्रमुख चौधरीले भन्नू भयो ।
कागजीरुपमा लिखित धेरै भए अब व्यवहारमा लागू गर्नु होस, शिक्षालाई प्रभावकारी गराउनुस तपाईंहरुको सुख दु:खमा स्थानीय सरकार छ, तपाईंहरु आत्तिनु पर्दैन”- उहाँले भन्नू भयो ।
सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय तथा आधारभुत तह कक्षा १-८ को सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एक दिने अन्तरक्रिया कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ दाङका प्रमुख देवमणी चौधरीले शिक्षालाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा सबै गम्भीर हुनु पर्ने बताउनु भयो । गतिलो शिक्षा प्रदान गर्न सकिएन भने समाजले सहि मार्ग समात्न नसक्ने कुरामा प्रमुख चौधरीले जोड दिनु भयो ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले आफ्ना जीवन भोगाईका अनुभव सुनाउनु भएको थियो । सुवेदी विद्यालय कस्तो गराउने भन्ने मुख्य हात शिक्षकको हुन्छ र देश बनाउने भनेको ज्ञान, विज्ञान र बुद्धिले भएको बताउनु भयो । लमही नगरपालिकाका शिक्षा अधिकृत भवानी गिरीले सबै स्थानीय तहमा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेमा शिक्षक, अभिभावक र विद्यार्थी सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई दाङका प्राविधिक सहायक उर्मिला शर्माले गर्नु भएको थियो ।
एक दिने अन्तरक्रिया कार्यक्रममा लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्