दाङ – लमही नगर विकास समितिले बसपार्कबाट हटाइएका व्यवसायीसंग छलफल गरेको छ । लमही नगर विकास समिती, भूमि सप्लायर्सका प्रतिनिधि अर्जुन गुप्ता र व्यवसायीविच छलफल भएको छ ।
अस्थायी टहराबाट हटाइएका व्यापारीहरुलाई सटरमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे छलफल भएको लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनु भयो । त्रिपक्षीय छलफलमा सौहार्दपूर्ण सहमति भएको छ, कसैलाई पनि मर्का नपर्ने गरि सम्झौता भएको छ’- चौधरीले भन्नु भयो ।
हिज मात्र नगर विकासले नगर विकासको जग्गामा बनाइएका अस्थायी घर टहरा हटाइएको थियो । नगर विकासले बारम्बार सूचना गर्दा समेत अटेर गरेपछि समितिले प्रहरीको सहयोग लिएर जग्गा खाली गराएको नगर विकास समितिका सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो ।
लमही नगर विकास समितिले निर्माण गरेको क्रिकेट स्टेडियमको सटरमा केही व्यवसायीलाई व्यवस्थापन गरिएको छ । बसपार्क, राजमार्ग वरपर अव्यवस्थित तरिकाले ठेला राख्न नदिने भएको नगर विकास समिति सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले जानकारी दिनु भयो ।
लमही नगरपालिका – ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बजारलाई सफा सुन्दर राख्ने, स्थानीय पालिकालाई पनि सहयोग गर्दै आफ्नो व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गर्नु भयो । वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले व्यवसायीका हक हितका लागि नगर विकास र नगरपालिका सधै सकारात्मक रहने बताउनु भयो । दुवै पक्षले सहयोग आदानप्रदान गरे काम गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो ।
लमही नगरपालिका -१ का वडा अध्यक्ष तथा नगर विकास समितीका सदस्य दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नम्बर ८ का वडा अध्यक्ष तथा लमही नगर विकास समितिका सदस्य उमेश कुमार खड्का, भूमि सप्लायर्सका अर्जुन गुप्ता र व्यवसायी बिच छलफल भएको हो ।
छलफलमा सहभागी भएका व्यवसायीहरुले स्थानीय सरकार आफुहरुको अभिभावक भएकोले अभिभावकत्व ग्रहण गर्दै सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए । आगामी दिनहरुमा स्थानीय सरकारका मापदण्डहरु पुरा गर्दै व्यवसाय गर्ने प्रतिबद्दता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्