दाङ – लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले वैदेशिक रोजगारीबाट आएको पैसालाई सहि ठाउँमा सदुपयोग गर्नु पर्ने बताउनु भयो । लमही नगरपालिका-९ तेलियामा आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका परिवारका लागि वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको समापन कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट आएको आर्थिक हिनामिना भएको, दुरुपयोग भएको, अनावश्यक ठाउँमा लगानी गर्ने गरेका थुप्रै घटना सार्वजनिक भैरहेको भन्दै यी कुरालाई गम्भीरता पूर्वक लिनु पर्ने बताउनु भयो ।
वैदेशिक रोजगारीमा जानै परे सबै सरकारी प्रक्रिया पूरा गरेर मात्र जान सबैलाई आग्रह गर्नु भयो । यस्तो प्रक्रिया पूरा गरेर गएमा बिदेश गएका बेला आइपर्ने कठिनाईमा राज्यले चासो दिन्छ”- उहाँले भन्नू भयो । सीप सिकेपछी विश्वको कुनै पनि कुनामा काम लाग्ने गर्दछ, अन्तर्राष्ट्रिय बजारमा कस्तो खालको सीपको माग छ त्यो बुझेर सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानू पर्छ”- नगर उपप्रमुख योगीले भन्नू भयो ।
लमही नगरपालिका -९ का वडा सदस्य गणेश बहादुर कुमालले तालिममा सिकेको र बुझेको कुरा व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयो । वैदेशिक रोजगारमा जानू भन्दा सीप सिकेर आफ्नै गाउँ घरमा स्वरोजगार बन्नु पर्ने वडा सदस्य कुमालको भनाई छ ।
खर्च भन्दा बचत कसरी गर्ने, वैदेशिक रोजगारीमा जानू भन्दा अगाडी सीप सिक्नु पर्ने, आफ्ना कागजात घरमा पनि छोडेर जानू पर्ने जस्ता कुरा तालिमबाट प्रष्ट भएको लमही नगरपालिका -९ तेलियाका रेजीना केसीले भन्नू भयो । उद्यमीका लागि केही सीपमूलक कार्यक्रमको आवश्यकता भएकोले नगरपालिकाले यो बारे नगरपालिकाले सोच्दिनु पर्ने केसीले भन्नू भयो ।
घरायसी काममा अल्झिएका गृहणीका लागि स्विटर बुनाई तालिम उपयुुक्त भएको भन्दै सोही तालिमलाई प्राथमिकता दिनु पर्ने तालिममा सहभागीहरुको जोड छ । घरको काम संगसंगै आफ्नो सीपलाई सदुपयोग गर्न सकिने उहाँहरुको भनाई छ ।
उत्पादन गरेका सामाग्री स्थानीय बजार र गाउँ घरमै खपत हुने गरि सहजीकरण गरि दिन लमही नगरपालिकालाई तालिममा सहभागी रिता खत्रीले बताउनु भयो । २१ हप्ते वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिमबाट जीवन निर्बाहका लागि धेरै कुराहरु सिक्न र बुझ्न पाएको खत्रीको बुझाई छ ।
२१ हप्ता सम्म चलेको वित्तीय साक्षरता तालिमले हौसला बढाएको लमही नगरपालिका -९ तेलिताकी चन्द्रकला बोहराले बताउनु भयो । यो तालिमबाट जीवन कसरी चलाउने र जीवन के हो भनेर बुझ्न पाइयो, धेरै खुशी लागेको छ”- बोहराले भन्नू भयो ।
तालिममा २३ जना महिलाहरुको सहभागिता रहेको थियो । वित्तीय साक्षरता सहजकर्ता मीना बस्नेत र मनोसामाजिक परामर्शकर्ता निमा भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।
लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजीकरण वित्तीय साक्षरता सहजकर्ता मीना बस्नेतले गर्नु भएको थियो । गत भदौ महिनाबाट शुरु भएको तालिम आज फाल्गुन १६ गते समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्