दुई सय १५ जनालाई गरिब परिवार परिचयपत्र वितरण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २४ फाल्गुन २०८०, बिहीबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाले हालसम्म २ सय १५ जनालाई गरिब परिवार परिचयपत्र वितरण गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत संचालित यो कार्यक्रमले गरिबीका रेखामुनि रहेका मानिसहरुको पहिचान गरि तीन प्रकारमा वर्गिकरण गरेको छ ।

अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर राज्यले वर्गिकरण गरेको छ । यसरी वर्गिकरण गरेपनि वर्गिकरणमा परेका गरिवले के के सेवा सुविधा पाउने भन्नेबारे भने कुनै स्पटता छैन ।

मन्त्रालयको निर्देशन अनुशार लमही नगरपालिकाको सामाजिक सुरक्षा तथा पंजीकरण शाखाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका गरिबीका रेखामुनि रहेका मानिसको पहिचान गर्दै तथ्यांक संकलन गरेको छ । अहिलेसम्म २ हजार २ सय ४८ जनाको विवरण संकलन भएको सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख कमल अर्यालले जानकारी दिनु भयो । गरिब परिवार परिचयपत्र कार्यक्रमका लागि पालिकाले गत आर्थिक वर्ष २०७९ देखि गरिबीको रेकामुनी रहेका मानिसको पहिचान गर्दै विवरण संकलन कार्य थालेको प्रमुख अर्यालको भनाई छ ।

शुरुको आर्थिक वर्ष २०७९ मा २ जनाले मात्र गरिब परिवार परिचयपत्र लिएको तथ्यांकले देखाउछ । दोस्रो पटक २०८० फाल्गुनमा जारि गरिएको सूचना अनुशार २ सय १३ जनालाई गरिब परिवार परिचयपत्र प्रदान गरेको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बताउनु भयो । सरकारले कुनै न कुनै सेवा सुविधा प्रदान गर्नकै लागि गरिबको वर्गिकरण गरेको होला, हामीले पनि केन्द्रको निर्णय अनुशार विवरण संकलन गरि परिचयपत्र वितरण गर्दै आएका छौं, उनीहरुले पाउने सेवा सुविधाको बारेमा पनि मन्त्रालयले केहि मापदण्ड तोक्ला’– नगर प्रमुख चौधरीले भन्नु भयो ।

त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले गरिब परिवार परिचयपत्र वितरण गरिएकालाई राज्यले केहि न केहि सुविधा उपलब्ध गराउने कुरामा विश्वास व्यक्त गर्नु भयो । आर्थिक र भौतिक रुपले समस्याग्रस्त भएका मानिसहरुले नै गरिब परिवार परिचयपत्र पाएका छन् भन्दै उपप्रमुख योगीले गरिबहरुको वर्गिकरण गरेर मात्र नहुने र उनीहरुलाई छिटो भन्दा छिटो सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

लमही नगरपालिका वडा नम्बर –१ मा १ जना, ३ मा ६ जना, ४ मा ७ जना, ५ मा १८ जना, ७ मा ७ जना, ८ मा १ सय १७ जना र ९ नम्बर वडामा ५९ जना गरि जम्मा २ सय १५ जनालाई गरिब परिवार परिचयपत्र वितरण गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्