दाङ – लमही नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको विशिष्ट आतिथ्यतामा दिवस मनाईएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माले महिलाहरू अझै पनि सामाजिक कुरिती र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समयमा राज्यले अबलम्बन गरेको नीतिले महिलालाई माग र आवश्यकता अनुरूप अधिकार प्रत्यायोजन गरेको कुरा प्रष्टाउँदै उक्त अधिकार प्राप्तिका लागि महिलाहरू आफै मुलधारमा आउन अनुरोध गर्नुभयो । महिलाहरूमा जागरण नआएसम्म बाटो पुलपुलेसा बनाएर मात्र विकास नहुने भन्दै सामाजिक रूपमा परिवर्तन हुनु पनि विकास भएकोले स्थानीय तहले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विश्वकर्माको भनाई छ ।
त्यसैगरी लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सबैमा शुभकामना व्यक्त गर्दै नारी शक्तिको स्वरुप भएको दावी गर्नुभयो । हिजोको परिवेश र आजको परिवेश फरक रहेको भन्दै उहाँले आजका नारी आफैमा सक्षम रहेको र सबै महिलाहरु आत्मनिर्भर र सक्षम बन्न जरुरी रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास प्रस्तुत गर्दै ८ मार्चलाई विश्वभरका महिलाहरूको हक, हित र अधिकार प्राप्त गरेको दिनको रूपमा मनाइदै आएको बताउनुभयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिलामाथि श्रममा पनि विभेद हुँदै आएको बताउनु भयो । पुरुष सरह समान ज्यालाको माग गर्न थालेको वर्षौं भएको छ तर महिलाहरूलाई श्रममा समेत विभेद हुने क्रम रोकिएको छैन । बरु संस्थागत हुन थालेको छ । श्रमको समस्या त छँदैछ, दिनहुँ महिलामाथि हुने हिंसाले महिलाहरू आत्महत्या गर्न बाध्य भएको उपप्रमु योगीको भनाई छ ।
त्यस्तै लमही नगरपालिकाका निवर्तमान उपप्रमुख देवका बेल्बासेले महिलाहरू बेरोजगार हुनु, राज्यबाट महिलामा लगानी नहुनु, आयआर्जनको स्रोत पुरुष मात्र हुने हुँदा महिलाहरू सधैं पीडित बनेको बताउनु भयो। ‘आयआर्जनमा महिला जोडिएकै छैनन् । सँधै पुरुषको मुख ताक्न बाध्य हुन्छन् अनि हिंसाका शिकार बनेका हुन’, बेलबासेले भन्नु भयो, ‘यदि राज्यबाट महिलामा लगानी अभिवृद्धि गर्न सकियो र परनिर्भरता घट्नेछ अनि महिला रोजगार भए भने महिला हिंसाका घटना कम हुनेछन् ।’ महिलामाथि जे जस्ता हिंसा गरे पनि राजनीतिक संरक्षणबाट उन्मुक्ति पाउने हुँदा यस्ता घटना बढिरहेको उहाँको भनाई छ ।
महिला दिवसका अवसरमा वक्तृत्वकला र कुर्सी दौड प्रतिगोतिता गरिएको थियो । कुर्सी दौडमा विजयालक्ष्मी गौतम प्रथम, गीता पोख्रेल द्वितीय, बसन्ता भट्ट तृतीय र लक्ष्मी पोख्रेल सान्त्वना हुनु भएको छ । त्यस्तै वक्तृत्वकलामा स्वस्तिका रेग्मी प्रथम, श्रीष्टि श्रेष्ठ द्वितीय, प्रेजिना रावत तृतीय र अमृता खनाल सान्त्वना हुनु भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मेनका खड्काले जानकारी दिनु भयो । वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेल, लमही नगरपालिका शिक्षा शाखा अधिकृत भवानी गिरी र नागरिक समाज दाङका संयोजक तथा साहित्यकार नीम बहादुर थापा रहनु भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेले दश हजार र प्रमाणपत्र, द्वितीय हुनेले सात हजार र प्रमाणपत्र, तृतीय हुनेले पाँच हजार र प्रमाणपत्र र सान्त्वना हुनेले तीन हजार र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यसैगरी कुर्सी दौडमा प्रथम हुनेले चार हजार, द्वितीय हुनेले तीन हजार, तृतीय हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार पाँच सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन । ११४ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा लमही नगरपालिकाबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरि पुनः नगरपालिकामै पुगेर कोणसभामा परिणत भएको थियो ।
लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लमही नगरपालिका कार्यपालिका सदस्य किरण चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मेनका खड्काले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर यो दिवस मनाउने प्रचलन सुरु भएको हो । नेपालमा यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनि’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्