देउखुरीका लमही, राप्ती, गढवा र राजपुरमा पनि कांग्रेसको १०० दिने विशेष अभियान शुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ कार्तिक २०८१, मंगलवार
4 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सबै पालिकाहरुमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान शुरु भएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले जानकारी दिनु भयो । सबै पालिकाहरुका वडाहरुमा कुन मितिमा कार्यक्रम गर्ने भनेर तय भएको समेत प्रवक्ता न्यौपानेले बताउनु भयो ।

लमही नगरपालिका-९ अमिलियामा कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका महा समिति सदस्य मोहन गिरीले पार्टीलाई संगठित बनाउँदै चलायमान बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्नेमा जोड दिनु भएको छ । सबैको साझा प्रयासबाट मात्र पार्टीले चलाएको अभियानले सार्थकता पाउने उहाँको भनाई छ । आपसी तिक्तता, बैमनश्य र अन्तरद्वन्द त्यागेर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न उहाँको आग्रह छ ।

पार्टीले सञ्चालन गरेको सय दिने अभियानले नेता कार्यकर्तामा जागरण ल्याउने विश्वास नेताहरुको छ । चार महिने अभियान चलाइरहेको बताउँदै केन्द्र र जिल्लाको अभियानलाई संगसंगै जोडेर पार्टी संगठन निर्माण र सुदृढीकरणमा लाग्न सबै कार्यकर्ताहरुलाई नेताहरुले आह्वान गर्नु भएको छ । नेपाली कांग्रेस लमही नगरपालिका -९ का वडा सभापति लिलाधर खड्काको सभापतित्व भएको कार्यक्रमको संचालन वडा सचिव नवराज वलीले गर्नु भएको थियो ।

त्यस्तै जिल्ला प्रतिनिधि तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य सुवास न्यौपानेले कांग्रेसलाई मजबुत बनाउन स्थानीय स्तरबाटै लाग्नु पर्ने बताउनु भएको छ । देशको आवश्यकता कांग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उहाँले सबै नेताकार्यकर्ता आपसमा मिलेर जानु पर्ने सुझाव दिनु भयो । सोही अवसरमा ६ जनालाई सदस्यता वितरण गरिएको थियो । नेपाली कांग्रेस लमही–७ का सभापति शालिकराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव निरञ्जन सिंहले गरेका थिए ।

कांग्रेस नेता कर्ण बहादुर बुढाथोकीले अभियानले एकताको सन्देश दिने बताउनु भयो । एकताबद्ध भएर जनताको सेवामा तल्लीन हुनु पर्ने बताउँदै उहाँले कांग्रेसको जग बलियो बनाउनु पर्ने उहाँको तर्क छ । गुट र उपगुटलाई त्यागेर आत्मीयता र सामिप्यता बढाएर पार्टी र संगठनप्रति इमानदार बन्नु पर्ने अहिलेको आवश्यकता भएको नेता बुढाथोकीको भनाई छ ।

अन्य वडाहरुमा पनि जिल्लाले प्रतिनिधि खटाएर अभियानको शुरुवात गरेको नेपाली कांग्रेस दाङले जनाएको छ । यो अभियानले यसरी जनताको घरदैलोमा कांग्रेस पुगेको देख्दा पार्टीका शुभ चिन्तक, कार्यकर्तामा खुशी देखिएको छ । पार्टी र कार्यकर्तामा नजिकको सम्बन्ध कायम हुने विश्वास गरिएको छ ।

अभियान सफल बनाउन नेपाली कांग्रेस दाङले लमही नगरपालिका- १ मा कर्ण बहादुर बुढाथोकी, २ मा रेशम बहादुर बुढा मगर, ३ मा लक्ष्मण पवन शर्मा, ४ मा भागिरथ चौधरी, ५ मा अजय न्यौपाने, ६ मा रेशम बहादुर खड्का, ७ मा सुबाश न्यौपाने, ८ मा शेषमणि गौतम र ९ मा मोहन गिरीलाई खटाएको छ । त्यसैगरी राप्ती गाउँपालिका-१ मा गिरिजादेवी न्यौपाने, २ मा चन्द्र बहादुर घर्ती, ३ मा लक्ष्मण चौधरी, ४ मा आत्माराम भट्टराई, ५ मा देवनारायण चौधरी, ६ मा गोवर्धन रावत, ७ मा भीमलाल चौधरी, ८ मा हुतासन रेग्मी र ९ मा विलोचन चौधरी खटिनु भएको छ ।

गढवा गाउँपालिका-१ मा गोविन्द रेग्मी, २ मा अनुप कुमार थापा, ३ मा अनुराग यादव, ४ मा विष्णु बसेल घिमिरे, ५ मा हिरालाल चौधरी, ६ मा गुलाम मोहम्मद जागा मुसलमान, ७ मा नारायण विसी र ८ मा उमाकान्त पन्तलाई खटाएको छ । त्यसैगरी राजपुर गाउँपालिका- १ मा तिपुर यादव, २ मा धनपतिदेवी यादव, ३ मा लोकराज केसी, ४ मा पूर्ण बहादुर चौधरी, ५ मा पवन नेपाली, ६ मा मधु न्यौपाने र ७ मा पूर्ण बहादुर बस्नेत खटिनु भएको छ ।

घोराही उपमहानगरपालिका-१ मा हरि भुसाल, २ मा रेख बहादुर वली, ३ मा कुमार घिमिरे, र ५ मा लीलाराम खनाललाई प्रतिनिधिका रुपमा नेपाली कांग्रेस दाङले जिम्मेवारी दिएर खटाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्