कुपोषणको अवस्था पत्ता लगाउन बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २४ मंसिर २०८१, सोमबार
2 Min Read
Aa

दाङ – बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । यो अभियान सोमबार लमही नगरपालिका- ५ मा रहेको कोलही नगर स्वास्थ्य केन्द्रबाट सुरु भएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गरिनेछ । हेलन केयरको सहयोगमा वेस ( ब्याक वार्ड सोसाइटी एजुकेशन ) द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ । ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह) , ११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह) , १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था मानिन्छ । परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मुआक लिने कार्य गरिनेछ।

मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने वेसका परियोजना संयोजक सुरेश चौधरीले बताउनु भयो । पाँच वर्षे अवधिमा जिल्लाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने उहाँको भनाई छ । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, पालिकास्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताउनु भयो ।

लमही नगरपालिकाका सबै विद्यालयमा ६ महिनादेखी ५९ महिना मुनिका बालबालिकालाई जुकाको औषधि चलिरहेको वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना शर्मा ज्ञवालीले जानकारी दिनु भयो ।

लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले पोषणद्वारा बालबालिकाको जीवन रुपान्तरण कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु गर्न जरुरी रहेको र यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरी वडा र नगरपालिकाले अत्यन्तै संवेदनशिल भएर यो कार्यक्रमलाई अगाडी बढाउन आवस्यक रहेको बताउनु भयो । कार्यक्रमको संचालन कोलही नगर स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक कृष्ण आचार्यले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्