दाङ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टीलाई सशक्त बनाउनका लागि केन्द्रदेखि वडा तहसम्मका काङ्ग्रेस नेता तथा कार्यकर्ता एकजुट हुन आवश्यक रहेको बताउनु भयो । राष्ट्रियता लोकतन्त्र र समाजबादलाई अबलम्बन गरि पार्टीलाई सशक्त बनाउन सबै एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । प्रजातान्त्रिक पद्धतिमा सबैको मत बराबर हुन्छ भन्ने कुराको ज्ञान काङ्ग्रेसीजनमा हुनु पर्ने उहाँको धारणा छ ।
नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले बुधबार मौरिघाटमा आयोजना गरेको सय दिने विषेश अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रसाइलीले काङ्ग्रेस कसरी बन्छ भन्ने चिन्तन अहिलेको आवश्यकता हो, रिक्सा चालक, किसान, मजदुर, व्यवासायीको जीवन कसरी चलिरहेको छ भन्ने जस्ता मुद्दा नेपाली काङ्ग्रेसको हुनु पर्ने बताउनु भयो ।
सबै प्रकृतिका मुद्दालाई समेटेर लैजाने बानिको विकास हुनु पर्छ, पार्टीको केन्द्रीय सदस्य र महासमिति सदस्य भएका व्यक्ति पनि क्षेत्रीय प्रतिनिधि आउने व्यवस्था हुनु पर्छ”- उहाँले भन्नू भयो ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले आफुले पाए ठिक नत्र गलत भन्ने मानसिकताबाट मुक्त हुनु पर्ने बताउनु भयो । स्थानीय उत्पादनलाई प्रयोग गरेर आर्थिक आम्दानी बढाउने तर्फ भन्दा पनि ऋण कर्जा काढेर बिदेश पलायन हुने वातावरण बन्द गरिनु पर्ने बताउनु भयो । काङ्ग्रेसले नेतृत्व गर्दै गर्दा देशमा धेरै स्थानमा विकास भएका छन तर कहिँ कतै हाम्रै साथिहरुले पनि आफ्ना निकटका मानिसलाई मात्र समेट्दा अन्य कार्यकर्तामा मर्का परेको छ”- उहाँले भन्नू भयो ।
नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीले सांगठनिक संरचना मजबुत गराउनका लागि पार्टीले सय दिने विषेश अभियान संचालन गरेको बताउनु भयो । सदस्यता नविकरण शुल्क धेरै भयो भन्ने कुरालाई सम्बोधन गर्दै सभापति डाँगीले वडा कार्यसमितिलाई आर्थिक रुपले बलियो गराउन नविकरण शुल्क रुपैयाँ निर्धारण गरिएको बताउनु भयो । तिर्न नसक्नेका लागि जिल्लाले शुल्क तिरेर नविकरण गर्ने उहाँको भनाई छ ।
सहमहामन्त्री खगराज पाण्डेले कविता मार्फत सम्पूर्ण काङ्ग्रेस कार्यकर्तालाई एकजुट हुन आग्रह गर्नु भएको थियो । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले संगठन निर्माणमा समय दिनु पर्ने बताउनु भयो । कुनै बेला सिसहनिया नेपाली काङ्ग्रेसको बलियो गढ भएको स्मरण गर्दै पछिल्लो समय पार्टी भित्र गुट उपगुटका कारण पार्टी कम्जोर भएको बताउनु भयो । पछिल्लो पुस्तालाई पार्टीको बारेमा बुझाउन नसक्दा नै यो स्थिति आएको हो, नेवि संघको राजनीति गर्दै गर्दा थुप्रै उतारचढाव गर्नु परेको उहाँको भनाई छ ।
संगठनलाई मजबुत बनाउनका लागि मेहनत गर्नै पर्ने शर्माले बताउनु भयो । शर्मा गएको निर्वाचनमा राप्ती गाउँपालिका-७ बाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
राप्ती गाउँपालिकाका पुर्व उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले पार्टीलाई निर्वाचनका बेला पार्टीको विरुद्ध उम्मेदवारी दिएर घात गर्नेहरुलाई सजिलोसँग पार्टीमा भित्र्याउन नहुने बताउनु भएको छ । पार्टीकै नेता प्रदेशको मुख्यमन्त्री हुँदा कुनै सहयोग नभएको बताउनु भयो ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रदेश प्रतिनिधि दुर्योधन पाण्डेले लामो समयसम्म पार्टीमा लागेर संघर्ष गरेका व्यक्तिको एक दिन अवस्य पालो आउँछ भन्दै सबैलाई धैर्यता गर्नु पर्ने बताउनु भयो । नेपाली काङ्ग्रेस जेष्ठ नागरिक विभागका केन्द्रीय सदस्य आत्माराम भट्टराईले पार्टी नेतृत्व नसुध्रीए जनताले सबक सिकाउने बताउनु भयो । जनतालाई रिझाउन नसके भारतिय काङ्ग्रेसको जस्तो अवस्था नआउला भन्न नसकिने उहाँको भनाई छ ।
सय दिने विषेश अभियानका लागि खटिएका जिल्ला प्रतिनिधिहरुले सबै वडाहरुमा नेपाली काङ्ग्रेसको अवस्था संतोषजनक नभएको प्रतिक्रिया दिएका थिए ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश क का सभापति श्रीपद चौधरीले जनतासंग जोडिन नसकेको गुनासो राख्नु भयो । त्यसैगरी संविधान सभा सदस्य सुशीला चौधरीले स्थानीय निर्वाचनमा जनताले चाहेका व्यक्तिलाई उम्मेदवार बनाउन नसक्दा पराजय भोग्नु परेको बताउनु भयो । राजनीति पार्टीको आडमा काङ्ग्रेस निकट कर्मचारीलाई स्थानीय सरकारले दु:ख दिएको चौधरीको भनाई छ ।
राप्ती गाउँपालिका-१ का वडा सभापति पदम पुनले पछिल्लो समयमा पार्टी प्रती वितृष्णा जाग्दै गएको बुझाई रहेको बताउनु भयो । पार्टी छोड्ने, पार्टीका कार्यक्रममा सहभागी नहुने, पार्टीका गतिविधि अन्य पार्टीमा सूचना पुर्याइ दिने जस्ता काम भएको जानकारी गराउनु भएको छ । त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले खस्किदो रहेको बताउनु भयो । अगाडी ९६ जना क्रियाशिल सदस्य भएकोमा अहिले मुस्किलले २९ जनाले सदस्यता नविकरण गराएको बताउनु भयो ।
वडा नम्बर ४ का वडा सभापति पोमलाल गिरीले १ सय ४ जना क्रियाशिल सदस्य रहेकोमा ६० जनाले मात्र सदस्यता नविकरण गरेको बताउनु भयो । पार्टी प्रती आस्था राख्नेको संख्या घट्दै गएको उहाँको भनाई छ । वडा नम्बर ५ का वडा सभापति चुडामणी पोख्रेलले वडामा ४७ जनाले नविकरण गरेको बताउनु भयो । रोजगारीको शिलशिलामा बाहिर भएकोले कार्यक्रम गर्न कठिन भएको बताउनु भयो ।
वडा नम्बर ६ का वडा सभापति विश्वम्भर चौधरीले युवाजती सबै पलायन हुने र अरुले खास्सै चासो नराख्ने पाइएको बताउनु भयो । वडामा १ सय २२ मध्य ७५ जनाले मात्र सदस्यता नविकरण गरिएको छ । पार्टीका नेतृत्वबाट समन्वय नहुँदा टोल समिती संयोजक जस्ता जिम्मेवारी बोकेका साथिहरु पार्टी छोड्ने जस्ता काम भएको चौधरीको भनाई छ ।
वडा नम्बर ७ का वडा सभापति वीर बहादुर चौधरीले ७९ जना क्रियाशिल सदस्यमा ६० जनाको मात्र सदस्यता नविकरण भएको र अन्यले आर्थिक कम्जोर देखाउदै सदस्यता नगरेको बताउनु भयो । वडा नम्बर ८ का वडा सभापति तापेश्वर चौधरीले ६६ जना मध्य २२ जनाको मात्र सदस्यता नविकरण गरेको बताउनु भयो । पुरानो सदस्यता लिएकोले मात्र नविकरण गराए नयाँ सदस्यता पाएकाले नविकरण गर्न नमानेको सभापतिको भनाई छ ।
त्यसैगरी वडा नम्बर ९ का वडा सभापति तेज बहादुर कार्कीले ३९ जना मध्य २४ जनाको सदस्यता नविकरण भएको बताउनु भयो । राजपुर गाउँपालिका स्तरीय कर्मचारी युनियनका अध्यक्ष रुपलाल पाण्डेले युनियनमा आबद्ध भएका कर्मचारीहरु आफ्नो संगठनको बारेमा खुलेर बोल्न नसक्ने अवस्थामा रहेको बताउनु भयो ।
नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरीको सभापतित्व तथा नेपाली काङ्रेका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाका उपसभापति श्यामा डाँगीले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका सचिव तिर्थराज ज्ञवालीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्