काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ ।
च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ ।
सचिव गोकर्ण विष्टका अनुसार स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकामाथि सचिवालय बैठकमा छलफल हुनेछ ।
सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकको एजेण्डा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय समितिले तय गरेको हो ।
३० वैशाखमा स्थानीय तहको चुनाव सकिएपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो । यो बैठकमा चुनावको नतिजाबारे समीक्षात्मक छलफल हुने सचिव विष्टले बताए ।
एमालेको निर्वाचन विभाग प्रमुख उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चुनावी नतिजा समेटेर कार्यपत्र तयार पारेको छ ।
उक्त प्रतिवेदनमाथि आधारित भएर सचिवालय बैठकमा छलफल गर्ने एमालेको तयारी छ ।
चुनावको समीक्षासँगै एमाले सचिवालय बैठकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनेबारे पनि छलफल हुनेछ ।
२ र ३ असारमा जनप्रतिनिधिहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारी एमालेले गरेको छ । तर निर्णय भने सचिवालय बैठकले गर्नेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्