आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने

दाङ समाचार
दाङ समाचार ३१ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ –  रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।

एक लिटर मलको मूल्य ८०० रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । कृषि अनुसन्धान परिषदले अनुसन्धान गरेर सिफारिस गरेपछि वैज्ञानिकहरुका सुझावका आधारमा भारत सरकारसँग पत्राचार गरी उक्त मल भित्र्याइएको उनले बताए ।

भारतले ५ लाख लिटर उक्त मल दिने निर्णय गरेको उनको भनाइ छ । मन्त्री यादवका अनुसार भारतबाट असारभित्र ८० लाख मेट्रिक टन रासायनिक मल आउनेछ । असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट टेन्डर भएका मल पनि उपलब्ध हुने उनले बताए । ५२ हजार मेट्रिक टन मल आउने प्रक्रियामा रहेको र १४ हजार मेट्रिक टन मौज्दात रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्