एसपीपी सम्झौतामा पछि हटे देउवा

दाङ समाचार
दाङ समाचार १ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् ।

देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । त्यसका लागि सम्झौताको मस्यौदा अमेरिकाले नेपाली सेना, सरकार र राष्ट्रपति कार्यालयलाई बुझाइसकेको थियो ।

एसपीपीमा सरकारले सम्झौता गर्न लागेको थाहा पाएपछि वामपन्थी दलहरुले त्यसको विरोध गर्दै आएका छन् । सञ्चारमाध्यममा सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सम्झौता तत्काल गर्न नहुने भन्दै सत्ता गठबन्धनका कांग्रेसबाहेकका दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत विरोध जनाएपछि प्रधानमन्त्री देउवा एसपीपी सम्झौता तत्काल नगर्ने मनस्थितिमा पुगेका हुन् ।

‘हिजो (मंगलबार) प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बीचमा यसबारेमा लामो छलफल भयो,’ बालुवाटार स्रोतले  भन्यो, ‘एसपीपी अघि बढाउँदा अहिले गठबन्धनमै अप्ठ्यारो पर्ने निष्कर्ष निस्किएपछि प्रधानमन्त्रीज्यू पछि हट्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्