काठमाडाैँ – वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन परिणामबाट सन्तुष्ट हुन नसकेको नेकपा एकीकृत समाजवादीले अब पार्टीको सम्पूर्ण शक्ति मंसिरमा हुने निर्वाचनमा केन्द्रित गर्ने भएको छ ।
सो पार्टीले कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेबाटै तयारी सुरु गरेको हो । काठमाडौमा मंगलबारबाट सुरु भएको सो पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा रिपोर्ट पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन भन्दा पनि अब हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको बढि महत्व भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई आगामी निर्वाचनमा जुट्न र सोही अनुसार गतिविधि गर्न निर्देशन दिएका हुन् ।
‘निर्वाचन हाम्रो पार्टी जीवनका लागि अर्को एउटा महत्वपूर्ण परिघटना हो । हालै सम्पन्न स्थानीय निर्वाचनको भन्दा पनि यसको ठूलो महत्व छ’, अध्यक्ष नेपालले भनेका छन् । आगामी निर्वाचनमा प्राप्त गर्ने सफलताले एकातर्फ आफ्नो पार्टीको राजनीतिक हैसियत निर्धारण गर्ने र अर्कोतर्फ भावी राजनीतिक यात्राको आधार निर्माण गर्ने अध्यक्ष नेपालको भनाइ छ ।
‘त्यसैले आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो’, नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन् । उनले आगामी निर्वाचनमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित हुन निर्देशन दिदै अहिले देखिनै प्रत्येक टोलटोलमा चुनाव प्रचार कमिटी र आर्थिक सहयोग सङ्कलन कमिटीलगायत आवश्यक संरचना गठन गरी परिचालन गर्न भनेका छन् ।
‘जनतामाझ जाऔं, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने मूल नाराका साथ प्रचार अभियान सञ्चालन, घरदैलो, पार्टीको लोगो तथा चुनाव चिन्ह अङ्कित सामग्रीहरू वितरण गर्न अध्यक्ष नेपालले पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्