दाङ – लमही नगरपालिकाले छाडा पशु चौपायालाई व्यवस्थापन गर्न थालेको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भनेर निर्णय गरेको हो ।
छाडा पशु चौपायाले बजार तथा गाउँ घरमा सताउने गरेको व्यापक गुनासो बढ्न थालेपछि नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघले व्यवस्थापनको लागि पहल थालेको हो ।
शुक्रबार मात्र नगरपालिकाले साना ठुला गरि झन्डै पचास वटा गाई गोरुलाई ट्रकमा लोड गरि लमही नगरपालिका वडा नम्बर ७ मा रहेको टेङ्नैया र वडा नम्बर ९ रिहारमा रहेको गौशालामा पठाइएको हो ।

बजारमा हिड्ने छाडा पशु चौपाया व्यवस्थापन गर्ने कार्य निकै चुनौतीपूर्ण छ, तर हामीले यो कार्य शुरूवात गरेका छौ यो कार्यमा पक्कै पनि सफलता मिल्नेछ”- नगर प्रमुख चौधरीले भने । नगरपालिका भित्र रहेका गौशालालाई राम्रो व्यवस्थापन गर्ने र ती पशु चौपायाको हेरचाह गर्नका लागि मासिक रुपले पारिश्रमिक दिएर केही गोठाला राख्ने योजना रहेको नगर प्रमुख चौधरीको भनाई छ ।
बजारमा छाडा रुपमा रहेका ती पशु चौपायालाई व्यवस्थापन गर्ने कार्यमा देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरी, उद्योग उपाध्यक्ष केशबराज पोख्रेल रिहार स्थित गौशालामा पुगेका थिए ।

ती गाई गोरुलाई केहि समय सम्म पुग्ने गरि पराल उपलब्ध गराउने वरिष्ठ उपाध्यक्ष ठकुरीले प्रतिबद्धता व्यक्त गरे । गौमाताको स्याहार सुसार गर्नु सबैको कर्तब्य हो, यस्तो पुन्य काममा सबैले सहयोग गर्नु पर्छ”- उनले भने ।
पछिल्लो समय गाई गोरु पालनमा मानिसको चासो घट्दै गएपछि तिनिहरु बेवारिसे जस्तै भएका छन । खेतीपाती गर्दा चाहिने गोरु र पुन्य कर्ममा आवश्यक पर्ने गाई अहिले किसानका घरमा देख्न सकिँदैन । मानिसले आधुनिक प्रविधि अपनाउन थालेपछि गाई गोरु पालनमा मानिसको मोह घटेर गएको स्थानीय हरिदत्त पोख्रेलको बुझाई छ । “कस्तो समय आयो सित्तैमा दिंदापनि कसैले लैजाने मन गर्दैनन”- पोख्रेल भन्छन ।
पालिकाबाट सहयोग भएन – गौशाला
छाडा पशु चौपाया संकलन गरेर स्याहार सुसार गर्दै आएको रिहार स्थित गोरक्ष गौशाला धामले देउखुरीका कुनै पालिकाबाट सहयोग नभएको बताएको छ । देउखुरी भरिका करिब दुई सय छाडा गाईवस्तु खेरेर ल्याएका छौं, यी गाईगोरुलाई वन लैजाने, गोबर सोहोर्ने, दूध दुने घाँस पानी गर्ने दुई जना गोठालाको व्यवस्थापन गर्दिनुस भन्दा पनि नसुनेको गोरक्ष गौशाला धाम रिहारका नरबहादुर रावतले बताए ।

अघिल्लो पटक राज्यले गोठ निर्माणका लागि भनेर सानो आकारको बजेट दियो, उक्त बजेटले गोठ निर्माण त भयो तर बिना पर्खालको । अन्यत्रबाट गाईले धेरै सताए, भन्दै हुलका हुल ल्याएर छोडेर जानू हुन्छ, हामीलाई रोक्न गाह्रो हुन्छ किनभने सानो गोठ छ तर गोठको वरिपरि बार छैन, जसका कारण पशुहरु भागेर गैहाल्छन”- गोरक्ष गौधाम रिहारका कोटीलाल कवँर भन्छन ।

प्रतिक्रिया दिनुहोस्