इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ– इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घरकोभित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा माडी नगरपालिका वडा नम्बर ८ बस्ने २५ बर्षका सूर्य गुरुङ र सोही ठाउँ बस्ने ३० बर्षका शिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार सुरुमा गुरुङ इनारभित्र पसेका थिए । तर उनले सहयोग गर्न हातले इशारा गरेपछि राई कम्मरमा डोरी बाँधेर गुरुङलाई उद्दार गर्न इनारभित्र गएका थिए ।

राईले बाँधेको डोरी चुडिएपछि उनी पनि तल खसेका प्रहरीले जनाएको छ । दुबै जनाको अक्सिजनको कमी भई मृत्यु भएको प्रहरीको अनुमान छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्