दाङ – विद्यालय तहको शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने कार्यशाला लमहीमा शुरु भएको छ ।
कार्यशालाको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन । उद्घाटन गर्दै नगर प्रमुख चौधरीले उपस्थित सबै विद्यालयका शिक्षकहरुलाई शिक्षा मार्फत नगरपालिकालाई उज्यालो बनाउन आग्रह गरे । असल नागरिक उत्पादन गर्ने शिक्षा जस्तो महत्त्वपूर्ण पाटोमा सबै गम्भीर भएर लाग्न नगर प्रमुख चौधरीले आग्रह गरे ।
“तपाईंहरुले विद्यालयका सबै गतिविधि चुस्त दुरुस्त राख्नु भयो भने त्यस विद्यालय प्रती सबैको आकर्षण बढ्छ, विद्यार्थी भर्ना गरिदेउ भनेर अन्यत्र जान पर्दैन, तपाईंहरुलाई विद्यार्थी सम्हाल्नै हम्मे हम्मे हुन्छ”- नगर प्रमुख चौधरीले भने ।
त्यस्तै नगरपालिका उपप्रमुख लक्ष्मी योगीले विद्यालय मन्दिर भएको उल्लेख गर्दै मन्दिरको पुजारी असल हुनु पर्ने बताईन । मन्दिरको पुजारी नै राम्रो भएन भने त्यस मन्दिरको अवस्था कस्तो होला ? योगीले प्रश्न गरिन ।

विद्यालयमा गुणस्तरीय शिक्षासंग संगै सरसफाइ, भौतिक संरचना निर्माण, विद्यालयको सुचना प्रबाह जस्ता अति महत्त्वपूर्ण बिषयहरुलाई मध्यनजर राख्दै यी कामहरु समयमै गर्नु पर्ने नगर उपप्रमुख योगीको भनाई छ । जसरी भएपनी शिक्षाको स्तर माथी उकास्नका लागि सबै लाग्नु पर्ने बताइन ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जब सम्म शिक्षकमा सुधार आउँदैन तब सम्म विद्यालयको सुधार हुन नसक्ने बताए । नगरपालिकाले शिक्षामा ठुलो लगानी गरेको भन्दै लगानी गरे जस्तो नतिजा आउन नसक्नु दु:खद भएको र त्यो नतिजाको जवाफदेही तिनै विद्यालयका शिक्षक हुनु पर्ने बताए ।

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले पटक पटक विद्यालयलाई विभिन्न तालिम, गोष्ठी आयोजना गर्दै आएको छ, भौतिक संरचना अभावका कारण पठनपाठनमा समस्या भएका विद्यालयमा भवन बनाइएको , यो वर्ष स्थानीय सरकारले निजि शिक्षकका लागि २४ लाख रुपैयाँ छुट्याएको समेत प्रशासकीय अधिकृत डाँगीले बताए ।
डाँगी भन्छन”- नगरपालिकाका शिक्षकमा अनुशासन बिल्कुलै देखिएन, शिक्षक जस्तो मर्यादित पद धारण गरेका व्यक्तिलाई हामीले बारम्बार भन्ने होइन विद्यालय पोसाक लगाउनुस, परिचयपत्र घाँटीमा झुन्ड्याउनुस, विद्यालयमा सरसफाइ गर्नुस भनेर भन्नू पर्ने हो ?

असार सम्म नगरका सत्रवटा विद्यालयमा विद्युतिय हाजिरी र सिसि क्यामरा जडान गरिने भएको छ । विद्यालयका सुचनालाई पारदर्शी,व्यवस्थित बनाउने, विद्यालयको तथ्यांक, विवरण, डाटा, सुचनालाई एकद्वार प्रणाली मार्फत प्रबाह गर्ने जस्ता विषयमा छलफल गरिने शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्रीले जानकारी दिए ।

लमही नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु गरिएको कार्यशालामा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक शिक्षिका गरि सच्चालिस जनाको सहभागिता रहेको थियो । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा शुरु भएको २ दिने कार्यशालाको प्रशिक्षकमा समवेदन कोइराला रहेका छन ।

प्रतिक्रिया दिनुहोस्