सिक्लेस-पोखरा सडकमा आधा दर्जन पहिरो, ३ दिनदेखि आउ-जाउ बन्द

दाङ समाचार
दाङ समाचार १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – लगातारको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक संचालनमा आउने सम्भावना कम छ ।

मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ ।

‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँ आउने अरु सबै बाटा बन्द छन् ।’ सिक्लेस कास्कीको चर्चित पर्यटकीय गुरुङ गाउँमध्ये पर्छ । पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक काम गर्न पनि समस्या भएको गाउँपालिकाले जनाएको छ ।

यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए । ‘प्रदेशमा पनि निवेदन पुगिसकेको छ । काम गरिदिने एकखालको प्रतिवद्धता जनाएको छ । आज हामी जनप्रतिनिधि पनि भेट्दैछौं । गाउँपालिकाले पहिरो हटाउन काम गर भनेको छ,’ उनले भने, ‘तर, अहिले गर्ने भरेभोलि नै पानी पर्दा फेरि पहिरो गइहाल्छ । बनाउँदै, भत्किदै जान्छ । समस्या भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्