घर भत्किँदा एक बालिकाको मृत्यु , २ जना घाइते

दाङ समाचार
दाङ समाचार १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको हो ।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा पनि आज बिहीबार बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्