दाङ – भारतीय जंगलमा निउरो टिप्न गएका बर्दियाका एक जनाको गोली प्रहारबाट मृत्यु भएको छ। बिहीबार अपरान्ह निउरो टिप्न गएका बर्दिया गुलरिया नगरपालिका वडा नं. ३, वनकटगाउँका हेमराज गोडियाको गोली प्रहारबाट मृत्यु भएको हो।
दाहिने घुँडामाथि गोली लागेर गम्भीर घाइते भएका हेमराजले राति ९ बजेतिर श्रीमती र छोरालाई फोन गरेर गोली लागेको खबर गरेका थिए । खबर पाए लगत्तै छोरा गएर सीमावर्ती क्षेत्रबाट हेमराजलाई घरमा ल्याएका थिए ।
घरमा ल्याएको केहीबेरमै एम्बुलेन्स बोलाएर हेमराजलाई अस्पताल लगिएको थियो । अस्पताल लगेर उपचार गर्न नपाउदै उनको मृत्यु भएको थियो । बर्दिया प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले हेमराजलाई कसले गोली हान्यो भन्ने खुल्न नसकेको बताए ।
‘दाहिने घुँडा भन्दा माथि गोली लागेको छ । कसले गोली हान्यो भन्नेबारेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी प्रवक्ता सुवेदीले भने । सीमा नजिक रहेका वनकटगाउँ र आसपासका मानिस भारतीय जंगलमा घाँस काट्न, साग टिप्न जाने गर्दछन् ।
सीमावर्ती गाउँका बासिन्दाले भारतीय जंगलमा घाँस काटेवापत मुन्सीलाई वार्षिक रुपमा सहयोग गर्ने बुझिएको छ । निउरो साग टिप्न गएका हेमराजलाई भारतीय वन रक्षकले गोली हानेको आशंका गरिएको छ ।
भारतीय जंगल गएका हेमराजलाई चोरी शिकारी ठानेर भारतीय वन रक्षकले गोली हानेको हुन सक्ने आकलन गरिएको छ । यस विषयमा भारतीय अधिकारीहरुले मुख खोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्