१० जना विरुद्ध मुद्दा दायर, मेयरसहितका ३ जनालाई अदालत नै लगिएन

दाङ समाचार
दाङ समाचार २१ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो ।

मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ । यस्तै फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

दानमति जिल्ला समन्वय समितिको उपप्रमुख हुन् । पीडित पक्षले आरोपी भनेका र पक्राउ परेका मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराएन ।

सरकारी वकिल कौशल ढुंगानाले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अघि नबढाएको अधिवक्ता कृष्ण ढुंगानाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा घटना भएको बेला मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएकोले उनीहरु घटनामा संलग्न नरहेको प्रमाण नपुग्ने ठहर गर्दै उनीहरुमाथि मुद्दा नचल्ने निर्णय सरकारी वकिले गरेका हुन् ।

पीडित पक्षले उनीहरु ३ सहित १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्