दार्चुलामा तुइनबाट खसेर १८ वर्षे युवक बेपत्ता

दाङ समाचार
दाङ समाचार २३ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् ।

भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ ।

तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय भन्छन्, ‘भारी बढी भएका कारण ओभरलोड भएको हो कि भन्ने भन्ने छ, अहिले खोजीलाई नै प्राथमिकता दिएका छौं ।’

स्थानीयबासिन्दाका अनुसार अहिले युवक बेपत्ता भएको स्थान गत वर्ष भारतीय पक्षले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको ठाउँ नजिकै पर्छ ।

गत वर्ष घटना भएको स्थानमा अहिले पुल बनिसकेको छ, तर मान्छेहरुले लुकिछिपी अन्यत्र पनि तुइन हालिहाल्दा रहेछन्’ उपाध्यायले भने, ‘पोहोर घटना भएको स्थानबाट हिँडेर जाँदा २/३ घन्टाको दूरिमा अहिले युवक बेपत्ता भएका हुन् ।’

उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको उपाध्यायले बताए । उनले भने, ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग पनि खोजीका लागि सहकार्य गरिरहेका छौं ।’ बुढाथोकी यही वर्ष एसईई परीक्षा दिएर बसेका विद्यार्थी हुन् ।

यसबीच, गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट खसेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक (डीआईजी) मोहन आचार्यलाई टेलिफोन गरेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तीब्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए ।

बिहीबार थप फौज पठाएर खोजी कार्य तीब्र बनाइने उनले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्