थप २ जनामा हैजा, संक्रमितको संख्या २३ पुग्यो

दाङ समाचार
दाङ समाचार २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं महानगरपालिका–१३ का ५८ वर्षीय पुरुषमा हैजा पुष्टि भएको हो ।

असार २ गते काठमाडौंको बागबजार क्षेत्रका दुई जनामा हैजा पुष्टि भएको थियो । बिहस्बार थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।

निर्देशक डा. दासका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म हैजा देखिएकामध्ये २० जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले तीन जनाको उपचार चलिरहेको छ ।

काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु, ग्वार्को, भक्तपुरको चागुनारायण नगरपालिका, मकवानपुरको हेटौंडामा हैजाका संक्रमित भेटिएका छन् ।

हैजाको परीक्षणका लागि डिल्लीबजार र घट्टेकुलोमा सेल्फ टेस्टिङ बुथ राखिएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयले झाडापखालाका बिरामी भएका अस्पतालमा परीक्षणका लागि किटको व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्