रिफर घटाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
6 Min Read
Aa

खेमराज रिजाल – दाङ

शुक्रवार पनि मेडिकल तथ्यांकमा तीन सयभन्दा बढी बिरामीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपचार सेवा लिन आएका थिए । तीमध्ये कुनै बिरामीलाई पनि थप उपचारका लागि अन्यत्र रिफर गरिएन ।

आधिकारिक तथ्यांकअनुसार भने दैनिक औषतमा ८ सय बिरामीहरुले पछिल्लो तीन महिनायता सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । बच्चा जन्माउने व्यथाले च्यापेका गर्भवतीहरु पनि कुनै दिन प्रतिष्ठानमा हाजिरी लगाएर अन्यत्र रिफर हुन्थे । कसैलाई बच्चाको तौल कम छ भनेर अन्यत्र पठाइन्थ्यो, कसैलाई मुटुको चाल कम छ भनेर बाहिर लग्न भनिन्थ्यो त कसैलाई बच्चा जन्मने वित्तिकै एनआइसियु र बच्चाको डाक्टर चाहिन्छ भनेर बाहिर रिफर गरिन्थ्यो । तर प्रतिष्ठानमा त्यो अवस्था रहेनछ ।

तौल कम भएका बच्चाहरुलाइ एनआइसियुमा राखिने व्यवस्थापन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । बच्चालाई वाफ लगाउनेदेखि अन्य धेरै विशिष्टकृत सेवा प्रतिष्ठानमा देखिएको छ । आधुनिक प्रविधिमा जोडिएका बिरामीका बेड, वेडमाथि बिरामीहरुको सबै अवस्था जानकारी गराउने मोनिटर, आवश्यक परे तत्काल अक्सिजन, त्यसले नपुगे आइसियू र त्योभन्दा पनि गम्भीर भए भेन्टिलेटर सुविधासमेत उपलव्ध गराउन थालेको छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ।

कुनै पनि बिरामी स्वास्थ्य उपचार नपाएर रिफर हुनुपर्ने छैन भनेको छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले । ‘हामी प्रतिष्ठानलाई बिरामीहरुको सहज गन्तव्य बनाउन चाहन्छौं, यहाँ आउने बिरामीहरु पैसा नभएकै कारण भर्ना नपाएर बाहिरिन हामीले दिने छैनौं’, प्रतिष्ठानको स्वास्थ्य सेवा र भावी कार्यक्रमका विषयमा जानकारी लिन पुगेका जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मालाई प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले विश्वस्त पारे ।

अस्पतालका हरेक इकाई र विभागको जिल्ला समन्वय समितिको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अस्पतालबाट प्राप्त सेवा आधुनिक प्रविधिमा आधारित रहेको जिससका प्रमुख नित्यानन्द शर्माले बताएका छन् । स्थलगत अनुगमनका क्रममा उपप्रमुख चेतना चौधरीले पनि अस्पतालमा बिरामीहरुले आधुनिक उपचार पद्धतिबाट सेवा पाइरहेको बताइन् । बच्चाको एनआइसियुमा नवजात शिशुलाई नेवोलाइजर लगाउँदै थिइन, एकजना सिस्टरले ।

अघिल्तिर एनआइसियुमा बच्चा जिउने प्रयास गरिरहेको परिदृश्य देखिन्थ्यो । मास नपुगेरै जन्मेका तथा तौल कम भएका र आमाको दूध चुस्न नसक्ने नवजात शिशुहरुलाई नशाबाट औषधि र नाकबाट पौष्टिक पदार्थ खुवाएर नर्सहरुले एनआइसियुमा बच्चाहरु हुर्काइरहेका थिए । छिनछिनमा बच्चाको अवस्थाका विषयमा जानकारी दिइरहन्थे आमाहरुलाई । त्यसले आमाहरु पनि ढुक्क थिए ।

मेडिकल वार्डमा पुग्दा सबैको बेडमा स्वास्थ्यका सबै अत्यावश्यक तथ्यांक मापन गर्ने मोनिटर जडान गरिएको थियो । मानौ यहाँका प्राइभेट अस्पतालको आइसियु जस्तै थियो जनरल वार्ड । कोरोना संक्रमणले सिकाएर होला स्वास्थ्यका मापदण्ड पालना गर्न नर्सिङ स्टाफहरुले सुझाइरहेका थिए । अनुगमनका क्रममा अप्रेशन थिएटरमा पनि त्यस्तै आधुनिकता देखिएको छ । शुल्कका विषयमा पनि समन्वय समितिका प्रमुखले जानकारी लिएका थिए ।

निजी अस्पतालमा भन्दा त धेरै कम शुल्कमा शल्यक्रियालगायत अन्य उपचार सेवा प्रदान भइरहेको अस्पतालका निर्देशक प्रज्ञासिंह बस्नेतले जानकारी दिइन् । अस्पतालमा अहिले धेरै विभागीय विशेषज्ञहरु रहेका छन् । जेरेटिक वार्डसँगै जनरल वार्ड र पोष्ट अपरेटिभ वार्ड पनि स्वास्थ्यका मापदण्डका हिसावले पूर्ण व्यवस्थित देखिएको छ ।

आँखा उपचार सेवादेखि दन्त उपचार सेवा र आधुनिक प्रयोगशाला समेत व्यवस्थापन भैसकेको अस्पतालमा आउने बिरामीहरुले अनुभूति गरिरहेका छन् । राप्ती स्वास्थ्य विज्ञान उपक्षेत्रीय अस्पतालबाट स्तरोन्नति भए पनि स्थानीय तहमा स्वास्थ्य सेवा दिनेमा पहिलो नम्बरमा छ । तर पनि बिरामीहरुलाई झुक्याएर निजी अस्पतालमा तान्ने प्रवृत्ति भने अझै पनि हावी छ ।

हामी मेडिकल शिक्षाको प्रक्रियामा थियौं

यसैबीच जिल्ला समन्वय समितिको अनुगमन टोलीसमक्ष प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले अस्पताल निर्माणका लागि बजेट वक्तव्यमा बोलिए पनि रातो कितावमा शून्य रकम आएकोमा दुःख व्यक्त गरे । तैपनि आफूले परिमार्जित कार्यक्रममा बजेट पार्न अर्थमन्त्रालयमा प्रयास गरिरहेको जानकारी दिएका छन् ।

‘हामी कुनै सरकारको पालामा कुनै राजनीतिक दलबाट सिफारिस भएर नेतृत्वमा आएका हौंला, तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यहाँका सबै राजनीतिक दल र नागरिकहरुको आवश्यकताको विषय हो’, उपकुलपति लामिछानेले जिल्ला समन्वय समितिका प्रमुखलाई आग्रह गरे । राजनीतिक आस्थाबाट माथि उठेर यो प्रतिष्ठानलाई सबैको साझा प्रतिष्ठाको विषय नबनाएसम्म स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधारसहितको अस्पताल निर्माण कठिन हुने पनि उनको अभिव्यक्ति थियो ।

प्रतिष्ठानले आउँदो भदौ महिनामा सिनेटसभा पनि गर्दैछ । त्यसमा सबै दल एकाकार भएर प्रतिष्ठानको समुन्नतिमा लाग्नुपर्ने सुझाव पनि उनले दिए । अहिले आइसियु, एनआइसियु, पिआइसियु, हेमोडायलासिस सेवासमेत अनवरतरुपमा सञ्चालन गरिरहँदा बिरामीहरुको गन्तव्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको पनि उपकुलपति लामिछानेले बताए । प्रतिष्ठानलाई जग्गा प्राप्तिको प्रक्रिया पनि सकारात्मकरुपमा अगाडि बढेको बताउँदै सम्भवतः साउन महिनाभित्रै यसको अन्तिम निर्णय हुने पनि उनको अभिव्यक्ति थियो ।

गौरवको योजनामा सहकार्य : जिसस प्रमुख शर्मा

यसैबीच उपकुलपतिको सोच सकारात्मक भएको भन्दै प्रतिष्ठानलाई सुपरस्पेशलिष्ट सेवा सञ्चालनका लागि तयार बनाउन जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले आग्रह गरेका छन् । आफू पनि सिनेट सदस्य भएको स्मरण गर्दै जिसस प्रमुख शर्माले प्रतिष्ठानमा अब चाँडै एमबिबिएस सरहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न आफूले पनि विभागीय मन्त्रालय र यहाँका दशवटै पालिकाहरुलाई ध्यानाकर्षण गराउने बताए ।

‘नेपाल सरकारले निःशुल्क गरेका सबै सेवाहरु प्रतिष्ठानले दिन आवश्यक छ, अनि प्रतिष्ठान स्वायत्त संस्था पनि भएकाले यसलाई टिकाइराख्नका लागि हामीले पनि समन्वयकारी भूमिका निर्वाह गर्नेछौं’, जिसस प्रमुख शर्माले भने । सबैभन्दा प्राथमिक आवश्यकता स्वास्थ्य भएकाले यो क्षेत्रमा सबैले निस्वार्थ भावनाले साथ र सहयोग गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो ।

हाल प्रतिष्ठानले उपलब्ध गराएका आधुनिक प्रविधिमा आधारित स्वास्थ्य सेवाका विषयमा आफू सन्तुष्ट रहेको बताउँदै जिसस प्रमुख शर्माले यो प्रतिष्ठानलाई पश्चिम क्षेत्रकै प्रतिष्ठाका रुपमा लिन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्