कामदारको लाखौं रुपैयाँ लिएर ठेकेदार सम्पर्क बिहिन

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
4 Min Read
Aa

दाङ – ठेकेदारले कामदारको लाखौं रुपैयाँ लिएर सम्पर्क बिहिन हुँदा कामदार मर्कामा परेका छन । ठेकेदारले काम गरेको पैसा लिएर सम्पर्क बिहिन हुँदा दाङ लमही नगरपालिका वडा नम्बर ४ का महिलाहरु न्याय माग्दै लमही नगरपालिका पुगेका छन ।

लमही नगरपालिका वडा नम्बर ४ सेमरहवाकी कृष्णा चौधरीले पैंतालीस दिन काम गरिन तर पैसा एक सुको पाउन सकिनन । ज्यामी काम गरेर गुजारा चलाउदै आएकी उनी पैसा नपाएपछि समस्यामा परेकी छन । “वर्षा लाग्यो खेतीपाती गर्नका लागि बीउ बिजन मल किन्न सजिलो होला भनेर काममा लागे तर ठेकेदारले पैसा ठगेर भाग्यो“– कृष्णाले भनिन ।
त्यस्तै वडा नम्बर ४ ठुलो घुम्नाकी पबित्रा चौधरीले पनि सोही ठेकेदारसंग टेक्टरले काम गरे बाफत एक लाख पचहत्तर लाख रुपैयाँ लिनु पर्ने भएको बताइन् ।

No description available.

त्यस्तै सेमरहवाकै बिष्णु चौधरीले पनि १६ दिन काम गरेको पैसा नपाएको गुनासो गरिन । ठेकेदारले पैसा देलान भन्ने मानेर विश्वास गरियो तर पैसा नदिएर भागेको भन्दै आफुहरुले काम गरेको पैसा दिलाइ दिन सरोकारवालालाई अनुरोध गरिन ।
ज्यामी काम गरेर साँझ बिहान छाक टार्ने कृष्णा, पवित्रा र विष्णु जस्तै पचासौं महिलाहरू ठेकेदारले पैसा नदिए पछि न्यायका लागि लमही नगरपालिका पुगेका छन । ठेकेदारले पैसा कुनै पनि हालतमा दिनु पर्ने पिडित महिलाहरुको माग छ, यदि पैसा नदिए कानूनी उपचार तर्फ लाग्ने उनिहरुको भनाई छ ।

आर्थिक वर्ष २०७७÷७८ मा लमही नगरपालिका वडा नम्बर ४ को सेमरहवामा पक्कि नाली निर्माण गर्नका लागि लमही नगरपालिकाको आन्तरिक स्रोतबाट पचपन्न लाख बजेट विनियोजित भएको थियो । उक्त योजना सम्पन्न गर्नका लागि रामकृष्ण निर्माण सेवा कम्पनीले ठेक्का पाएको थियो । सम्झौता भए अनुशार उक्त कम्पनीले १ हजार ५ सय मिटर पक्कि नाली निर्माण गर्नु पर्ने थियो । नगरपालिकाले निर्माण कम्पनीसंग गरेको सम्झौता अनुशार समयमै काम सम्पन्न गरेको हुँदा भुक्तानी दिएको लमही नगरपालिकाका इन्जिनिएर सौगात ओलीले जानकारी दिए ।

No description available.

ठेक्का पाएको निर्माण कम्पनीले पेटी ठेक्का दिन पाइने कानूनमै उल्लेख भएको इञ्जिनिएर ओलीले बताए । उपभोक्ता मार्फत हुन लागेका योजना पेटीमा ठेक्का दिन मिल्दैन तर टेन्डर प्रक्रियामा हुन लागेका योजनाम पेटीमा ठेक्का दिंदा केहि फरक नपर्ने इञ्जिनिएर ओलीले बताए ।

उक्त रिङ्ग रोडमा पक्कि नाली निर्माणका लागि चालिस देखि पचास जना सम्म महिला कामदार थिए, पेटी ठेकेदार सोभारामले त्यहाँ काम गर्ने महिला कामदारलाई फरक फरक ज्याल दिएको पिडित महिलाहरुले बताए । काम गरेका महिला कामदार मध्ये थोरैले मात्र केहि पैसा लिएको तर सबै भुक्तानी नपाएको गुनासो गरेका छन ।

कम्पनीको अन्य ठाउँमा पनि काम गर्नु पर्ने भएकोले पेटी ठेकेदारका रुपमा दाङ दुधरासका सोभाराम कंवरलाई भ्याट र धरौटी बाहेक घाटा नाफा कंवरले व्यहोर्ने गरि नाली निर्माण गर्ने मौखिक सहमति गरेको रामकृष्ण निर्माण सेवा कम्पनीका गिरिराज न्यौपानेले बताए । काम सम्पन्न भएपछी सोभारामले रामकृष्ण निर्माण सेवा कम्पनीसंग सबै भुक्तानी लगिसकेकोले कामदारको भुक्तानी सोभारामले नै दिनु पर्ने कम्पनीले दावी गरेको छ ।

सोभारामले रामकृष्ण निर्माण सेवा कम्पनीबाट पेटी ठेक्का लिएर फेरी नविन थापा नाम गरेका व्यक्तिलाई दिएका थिए तर ति नविन थापा भन्ने व्यक्तिले काम विचमै छोडेर गएपछि पेटी ठेकेदार सोभारामले नौ महिना लगाएर १ हजार ५ सय मिटर पक्कि नाली निर्माण गरि रामकृष्ण निर्माण सेवा कम्पनीलाई जिम्मा लगाएका थिए ।

बिहिबार न्याय माग्दै नगरपालिका पुगेका महिला कामदारलाई सान्त्वना दिंदै निर्माण कम्पनीका गिरिराज न्यौपानेले पेटी ठेकेदार सोभारामलाई उपस्थित गराएर उनीहरुको पारिश्रमिक दिलाई दिने आश्वासन दिएका छन । ठेकेदारसंग कामदारले लाखौँ रुपैयाँ पाउनु पर्ने रहेको बताएका छन ।

यता लमही नगरपालिकाका न्यायीक समिति सदस्यले केशब कुमार अधिकारीका अनुशार रामकृष्ण निर्माण कम्पनीका मुख्य ठेकेदार आफ्नो सम्पर्कमा रहेको जानकारी दिंदै मुख्य ठेकेदार र दुई पेटी ठेकेदारलाई बोलाएर छलफल गरिने भएको छ । कुनै पनि मजदुरले आफुले काम गरेको पारिश्रमिक पाउनु पर्छ, हामीले तीन पक्षलाई बोलाएर न्यायोचित तरिकाले समस्या हाल गर्छौं”– न्यायीक सदस्य अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्