सत्तास्वार्थका लागि जे पनि सम्झौता गर्न तयार हुँदा विदेशी हस्तक्षेप बढ्योः लिङ्देन

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष लिङ्देनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन्।

उनले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रहसमेत गरे। पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्नसके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङ्देनको दाबी छ।

नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढ्न गएको तर्कसमेत गरे।

उनले भने, ‘सुघौली सन्धिपछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मलाई लाग्छ। हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छौँ।

हस्तक्षेपहरु त आउने नै भयो। विदेशीहरुको समर्थन नलिइकन सत्तामा टिक्न सकिँदैन भन्ने मान्यतालाई बल दिन थाल्यौ भने त्यो त हस्तक्षेप बनेर आउने नै छ। त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भए पनि साझा मान्यताको रुपमा अगाडि लिएर जानु पर्दछ।

’ उनले थपे, ‘पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा जुन प्रकारको अतिक्रमण बढ्दै गएको छ। त्यसलाई रोक्नका लागि पनि देशका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ।

र, मलाई लाग्छ–आज भन्दा २५० वर्ष अगाडि बडामहाराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगो बीचको तरुल हो भनेर नेपालको परराष्ट्र नीतिबारे भू–राजनीतिक जो संवेदनशीलता हो, उत्तर र दक्षिणका छिमेकहरुको जो अवस्थिति हो।

त्यसलाई ध्यानमा राखेर परराष्ट्र नीति बनाइएको थियो। मलाई लाग्छ, पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होइन, बिना पूवाग्रह भएर हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ।’

प्रतिक्रिया दिनुहोस्