मृगौला झिकेर बेचेको आरोपमा ५ जना पक्राउ

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौं – सडक बालबालिकाको मृगौला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही तथा विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूले काठमाडौंका सडक बालबालिकालाई फकाएर भारत लगी उनीहरूको मिर्गाैला झिकेर बेचेको पाइएको प्रहरीले जनाएको छ ।

भारतमा गएर मिर्गाैला दान गरेबापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारि सडक बालबालिकालाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गएको असार २८ गते काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनीहरूमाथी थप अनुसन्धान भइरहेको र यस्ता अपराधको थप जालो पत्ता लाग्न सक्ने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्