मुटु र मृगौलाको उपचारको लागी साझा प्रतिबद्धता

दाङ समाचार
दाङ समाचार ७ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

दाङ – लमहीमा सञ्चालित मृगौलाको डायलाइसिस सेवा विस्तार र मुटु अस्पताल निर्माणको लागी साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

रोटरी क्लव अफ लमहीको तेस्रो पद हस्तान्तरण कार्यक्रममा लमहीमा सञ्चालित मृगौला डायलाईसिस सेवा विस्तारको लागी पहल गरिएको छ ।

नगर विकास समिति संग स्थानीय, प्रदेश सरकारले डायलाइसिस सेवाको लागी चाहिने पुर्वाधारको लागी छलफल गरेर निस्कर्षमा पुगिने भएको हो । मुटु अस्पतालको लागी जग्गाको खोजी गरिने भएको छ ।

रोटरी क्लव अफ लमहीका अध्यक्ष मोहनकुमार पाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थारुले स्वास्थ्य उपचारमा गरिब, विपन्न नागरिकहरुको पहुँच अभिवृद्धिका लागी प्रदेश सरकारले स्वास्थ्यमा लगानी बढाएको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले समस्याको गाँठोहरु फुकाउन सकिने, त्यसका लागी निरन्तरत छलफलको आवश्यकता पर्ने बताए ।‘जस्तो सुकै समस्याको पनि समाधान गर्ने विकल्पहरु हुन्छन् । हामी तमाम विकल्पहरुमा छलफल गरेर समस्याको गाँठो फुकाउन सक्छौं’उनले भने–‘लमहीमा पर्ने सामाजिक समस्याहरुको समाधान निकाल्न अघि बढौं ।’

कार्यक्रममा लमही नगरपालिकाका कार्यवहाक नगर प्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, रोटरी क्लवका असिस्टेन्ट गर्भनर महेश बिष्ट, लमही नगरपालिकाका संस्थापक नगर प्रमुख कुलबहादुर केसी, रोटरी क्लव तुलसीपुर सिटीका अध्यक्ष यज्ञबहादुर केसी, रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्य, तेजस्वी मातृभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगमान खड्का लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

सन् २०२१/२०२२ का अध्यक्ष बसन्तकुमार भण्डारीले सन् २०२२/२०२३ का अध्यक्ष मोहनकुमार पाण्डेलाई पद हस्तान्तरण गरेका छन । पाण्डेले आफ्नो कार्यसमिति समेत विस्तार गरेका छन ।

रोटरी क्लव लमहीका निवर्तमान कोषाध्यक्ष केशव घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव फणाधर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्