भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्वारा शपथग्रहण

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४औं उपराष्ट्रपतिका रुपमा शपथ लिएका छन्। राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ खुवाएकी हुन्।

गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए। उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठबन्धनको समर्थन पाएकी उम्मेदवार मार्गरेट अल्भाले प्रतिश्पर्धा गरेकी थिइन्।

भारतको संघीय संसदमा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भालाई १८२ मत परेको थियो। यसरी हेर्दा उपराष्ट्रपतिमा निर्वाचित धनखरले ७४.३६ प्रतिशत बराबरको मत प्राप्त गरेको देखिन्छ। सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन्।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने थिए। ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए। खसेको मतमध्ये पनि १५ मत रद्द भएको थियो। उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तिमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले अत्यधिक धेरै ५२८ मत पाउन सफल भएका हुन्।

उनको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको हो। उनले विद्यालय तहको शिक्षा छत्तिसगढस्थित सैनिक विद्यालयबाट पूरा गरेका थिए। उनले उच्च शिक्षामा भने भौतिक शास्त्र र कानुन शास्त्र अध्ययन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्