टिप्परमा आगो लगाउने तीन जना सार्वजनिक

दाङ समाचार
दाङ समाचार ७ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – आफ्नै सवारीमा आगो लगाउने गाडी धनीसहित ३ जनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । नेपाल बन्दको मौका छोपेर टिप्परमा आगो लगाउने गाडी धनीसहित चालक र सहचालकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा टिप्पर धनी घोराही उपमहानगरपालिका-१८ का ४३ बर्षिय धनेश्वर भण्डारी, चालक राप्ती गाउँपालिका-८ पिपरीका ३२ बर्षिया अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुरका १७ बर्षिय आकाश चौधरीले रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले बताए।

घोराही उपमहानगरपालिका ३ कुईरेपानी स्थित बबई पुल नजिकै गोग्लीबाट लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा एक्कासी आगजनी भएको थियो । आज बिहान बन्दकर्ताले चालक र सहचालकलाई टिप्परबाट तल झारी आगजनी गरि फरार रहेको सुचना पाए लगत्तै प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरिक्षक बत्तिकुमार पोखरेलको कमाण्डमा ३ जना र घोराहीबाट प्रहरी निरिक्षक गजेन्द्रबहादुर शाहीको कमाण्डमा ७ जनाको टोलि दमकलसहित उक्त स्थानमा गएर आगो नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि टिप्पर धनी भण्डारीले टिप्पर पुरानो भएर जिर्ण भइसकेकाले बिमा रकम दाबीका लागि आगो लगाउन भनि अरुण र आकाशलाई निर्देशन दिएकाले उनिहरु दुबै जनाले टिप्परमा डिजेल खन्याएर आगो लगाएको डिएसपी गौतमले जानकारी दिए ।

पक्राउ परेका तिनै जनामाथि अपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भई रहेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ को उपदफा १ र २ बमोजिमको परिभाषित कसुरमा सोहि दफाको उपदफा ३ ग बमोजिम एक बर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्