नेपालको राजनीति ‘चोरलाई चौतारो, साधुलाई शुली’ जस्तै भयो – देवराज पाठक(अन्तर्वार्ता)

दाङ समाचार
दाङ समाचार ३० भाद्र २०७९, बिहीबार
12 Min Read
Aa

यतिबेला देशैभर स्वतन्त्रबाट उम्मेदवार बन्नेहरुको संख्या बढ्दै गैरहेको छ । बालेन्द्र शाह, हर्क साम्पांग राई जस्ता युवाहरुले देश हल्लाई रहेका छन । टेलिभिजनको पत्रकारितालाई छोडेर नेपाली राजनीतिमा होमिएका अर्का युवा हुन् रवि लामिछाने, उनले नै नेतृत्व गरेका छन राष्ट्रिय स्वतन्त्र पार्टीको । देश र जनताको लागि केहि गर्नु पर्छ भन्ने संकल्प बोकेर राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभर संगठन निर्माण गर्दै अगाडी बढेको छ । स्वतन्त्र बाट चुनाव जितेका जनप्रतिनिधिहरुले दशकौं देखि सत्ताको स्वाद लिरहेका पुराना नेताहरुलाई कडा चुनौती थपी दिएका छन । अब देशको नेतृत्व बयोवृद्ले हैन, युवाले गर्नु पर्छ अनि मात्र देशले निकास र जनताले विकास पाउछन भन्ने पुष्टि गर्दिएका छन । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य देवराज पाठकसंग दाङ समाचारको टिमले कुराकानी गरेको छ ।

१- नमस्कार, सन्चै हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ आजभोलि ?
नमस्कार, धन्यवाद म सन्चै छु। आज सम्म भगवानको आशिर्वादले बाँचेकै छु। यतिबेला म लगायत हामी सबै राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन निर्माणका लागि दौडधुपमै छौं । कैले पुर्व कैले पश्चिम यस्तै त् हो राजनीतिक यात्रा। त्यति सजिलो कहाँ छर राजनीतिक यात्रा, जता पनि दुख मेहनत गर्ने पर्छ। अहिले देशमा स्वतन्त्र पार्टीको माग बढिरहेको कारण कार्यकर्ता भेटघाट, संगठन निर्माणमा व्यस्त छु ।

२- राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरुलाई कसरी आकर्षित गराउदैँ हुनुहुन्छ ?

हरेक राजनितिक पार्टीलाई सबै पुस्ताका जनताको साथ र समर्थन चाहिन्छ त्यो हामीलाई आवश्यक छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको सेवा मार्फत त्यो माया, विश्वास र साथ लिन चाहान्छ र युवा पुस्ता अत्यन्तै उर्वर मानवीय साधन हो । हामीले देखि रहेका छौं । जुन मुलुकले आफ्नो राष्ट्रिय प्राकृतिक स्रोतलाई आफ्नै देशको मानवीय साधनले अधिकतम प्रयोग गरे ती देशहरु सम्पन्न र विकसित छन् । जबसम्म पाखुरामा बल, दिमागमा बुद्धि भएका वर्गलाई उत्पादनशिल कार्यमा जोड्न सकिदैन तबसम्म समृद्धि र विकास मृगतृष्णा शिवाय केही हुनसक्दैन । हाम्रो मुलुक प्राकृतिक सौन्दर्य भरिपूर्ण छ । भौगोलिक विविधिता हाम्रा वरदान हुन् तर आज सुनको थालमा भिख मागेर खान्दैछौँ । यो विडम्वणा पूर्ण अवस्थाको सृजना कस्ले गर्यौ, आज यो प्रश्नको जवाफ उदाउदो पुस्ताले खोज्ने बेला आएको छ । हामी दिनदिनै परनिर्भर बन्दै छौं । खुला अर्थतन्त्रका नाममा स्थापित उद्योग कौडिका भाउमा बेचिए, के–का लागि बेचिए ? कस्का लागि बेचिए ? आज यसको खोजविन गर्ने बेला आएको छ । हामी देखि रहेका छौं हालसम्म पालैपालो शासन सत्ता समालेका नेताहरुले जनताको बेथा बुझ्नै चाहेनन । गरिबिको अवस्था डर लाग्दो छ । यो देशका व्यक्तिगत र दलगत स्वार्थ वृत्त भन्दा माथि आउनै सकेनन् । यिनीहरुको निस्कृष्ट प्रवृतिको दुश्चक्र तोड्न सुदर्शन चक्र चलाउनु बाहेक अन्य विकल्प छैन । हेर्नु होस् न हाम्रो कहाली लाग्दो अवस्था बजारमा न हामीले आर्जन गरेको शिक्षा बिक्दछ, न गरिखाने ठाउँ छ । विदेश गएर न कमाउजेल हाम्रो चुलो बल्दैन । अहिले त नेपालमा जन्मनु भनेको विदेशीका लागि श्रमीक उत्पादन हुनु जस्तै भएको छ । यो नियती हामीले भोगी रहेका छौं । जस्ले हामीलाई पीडा दिएको छ । यो पीडा आउँदो पुस्ताले भोग्न नपरोस् भनेर बैकल्पिक शक्तिको रुपमा हामी आएका छौं । यी र यस्ता तमाम वेतिथी अन्त गर्न युवा पुस्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जोड्न चाहेका छौं । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञानलाई संयोजन गर्दै हाम्रो अवस्था बदल्न आऔँ, हातेमालो गरौँ भन्दै सम्पूर्ण युवालाई आह्वान पनि गरेका छौं ।

३ -तपाई लामो समयसम्म नेपाली कांग्रेको राजनिति गरेको नेता, फेरी एक्कासी किन पार्टी परित्याग गर्नुभयो ?

निसंदेह विगतमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघमा आवद्ध रहेर शिक्षकका समस्या, पेशागत हकहितका विषयमा बुलन्द आवाज निकाल्ने एउटा व्यक्ती म पनि हुँ । शिक्षण पेशमा रहदाँ पार्टीको पूर्णकालीन राजनिति गर्न नसकिने भएकाले पार्टीले दिएको जिम्मवारी मेरो क्षमता र बुद्धिले सकेजती भूमिका निर्वाह गरेकै हो । सवाल के हो भने मैले बुझेको कांग्रेको सिद्दान्त प्राजातान्त्रिक समाजवाद थियो । कांग्रेसको निति सामान्ती प्रवृतिको अन्त्य हो । गरिब, निमुखा र सिमान्तकृत वर्गको पक्षधर हो । त्यही कुराको विश्वास र आस्थाले म त्यहा जोडिएको थिए । आज समयसंग सबै कुरा बदलिएको छ । नातावाद, कृपावाद, धनवाद र बाहुबलीवाद नै आर्दश बनेको छ । यो यती धेरै हावी भयोकी, न जालोलाई ताड्न सकिन्छ नत सुधार्न । त्यो आहालमा डुब्नुभन्दा निस्कनु उचित सम्झिएर पार्टी परित्याग गरे । लाग्न सक्छ कसैलाई यो आरोप छोड्नेले लगाइ हाल्छन् । तपाई आफै गएर बुझ्न सक्नुहुन्छ यो पीडा भोग्ने नब्बे प्रतिशत भन्दा बढी कार्यकर्ता छन् । मेरो बहीर्गमन शिलशिला हो । मेरो वितृष्णा लाखौँ कांग्रेसजनको हो । नेतृत्वले सधै देश बेचेर परदेश रिझाउने, हामीले त्यसैमा दायाँ बायाँ छाप लागाउन बस्नैपर्ने ? सचेत नागरिकले गलतलाई गलत, राम्रोलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैका लागि विद्रोह गर्नुपर्छ ।

४- नेतृत्वको लागि पार्टी छोड्नु भएको होकी अवसर नपाएर ?
कर्मण्येवाधिकारसतेमा फलेषु कदाचन ।
माकर्मफलहहेतुभुर्मा ते संगोऽस्वकर्मणि ।।
गिताको यो श्लोकले हामीलाई कर्ममा मात्रै हक छ भनेको छ । निश्काम कर्म गर्दा कुनै बेला नेतृत्व गर्ने अवसर आएछ भने विचलित नभइ दृढताका साथ जनहितका लागि कर्म गर्छु त्यो अवसर पाएनछु भनेपनि राम्रो विचारको अगुवाइ गर्नेलाई स्थापित गर्न मन बचन र कर्मले साथ दिनेछु । त्यसकारण नेतृत्व गर्ने अवसर नपाएर पार्टी छोडेको होइन कसैप्रति गुनासो पनि छैन । छत केवल नेतृत्वसंग मात्र छ । जुन नेतृत्व निती निर्माणको तहमा छ । जसले राजनितिलाई व्यवसाय बनाएको छ ।

५ – राष्ट्रिय स्वतन्त्र पार्टी जनताको हितमा छ भनेर कसरी पत्याउने ? यो पार्टीले उठाएको मुद्दाहरु केके हुन् ?

सर्वपैथम त म के अनुरोध गर्न चाहान्छु भने राजनिति कसीमा बारम्बार फेल भइसकेका राजनैतिक दल र तिनका नेतृत्वलाई अब पनि सबक नसिकाउने हो भने हाम्रो दुर्दशा के होला ? संसारमा देखिएकै छन् त एकपछि अर्को आएका राजनैतिकदलले राम्रो काम गरेर राजनितिक सफल्ता प्राप्त गरेको । हाम्रै छिमेकी देश भारतमा कांग्रेस आइको विकल्पमा भाजपा आयो । भाजपाको विकल्पमा अहिले आम आदमी पार्टी आएको छ । नेपालका राजनितिक पार्टीले जनतालाई धोका दिंदा दिंदा आम जनतामा यस्तो छाप बसेको छ कि, जती जोगी आएपनि कानै चिरिएका ‘- त्यो पनि न्यायोचित होइन कि काम गर्ने अवसरै नदिएर भविश्यवाणी गरिदिने । हामीलाई तीस चालिस वर्ष होइन पाँचवर्षका लागि मात्र परिक्षण गर्न सत्तामा पुर्याउनु होस राज्य संचालन, विकास र जनजिविकाका सवालमा गुणात्मक परिवर्तन गरेर देखाई दिन्छौं । परिणाममुखी काम गर्छौँ । नेतालाई जनता र जनतालाई नेता भनेको ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा हो ।

–राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रियताको सवालमा दृढ र अटल छ । असंलग्न परराष्ट्र निती र पंचशिलको सिद्दान्तमा प्रतिवद्ध छ ।
–नेपाललाई सबै धर्म संप्रदायको साझा सुन्दर फुलवारी बनाउन चाहान्छौँ ।
–नेपाललाई शान्ति क्षेत्र घोषण गरियोस् भन्ने प्रस्ताव मित्र राष्ट्र समक्ष पेश गर्ने छौं ।
–जल जमिन र जंगलको अधिकतम् उपयोगबाट रोजगारीको सृजना गर्नेछौं।
–शिक्षालाई उच्च शिक्षासम्म पूर्णतः निःशुल्क बनाइने छ ।
–स्वास्थ्य सेवा सर्वसुलब र सबैको पहुँच बनाइने छ ।
–‘स्वदेश फर्कौ युवा’ अभियानकै रुपमा संचालन गरिने छ ।
–राष्ट्रहित विपरित कुनै सन्धि संझौता गरिने छैन ।

६, नेपालको राजनिति र नेपालका नेता देखेर जनता आजित भएका छन्, अब तपाईहरु जनतालाई कसरी विश्वस्त पार्नुहुन्छ ?

साच्चै भन्ने हो भने अहिलेको राजनितिक परिदृश्यले हाम्रो सुन्दर भविष्यको संकेत गर्दैन । जति पटक व्यवस्था फेरेपनि जनताका अवस्था उस्तै रहे । ठूला ठूला सपना बाड्ने तर व्यवहारमा केहि नगर्ने परिपाटीले राजनितिमा वितृष्णा पैदा भएको छ । दलहरुबाट जनविश्वास गुमिसकेको छ । व्याप्त भ्रष्टाचार, गरिवी, महंगीको मारमा हामी सबै छौं । जनता, गास, बास र कपासको अभावमा छट्पटाइरहेका छन् । सुनिदिने र बुझिदिने कोही छैन । कहिँ जाउ भने चोरलाई चौतारो, साधुलाई शुली छ । अवत केही गर्लान् की भन्यो, निर्वाचनमा जिताएर पठायो जनताको जीविकाको सवालमा कोही बोल्दैन र केही गर्दैन । राजनिति कमाउने भाडोँ बनाइएको छ ।

त्यसैले जनता नेपाली राजनितिका नेता देखेर आजित छन् । त्यसैले हाम्रो पार्टी यहि वेतिथीका विरुद्ध यिनै मुद्दा लिएर जनताको माझमा गइरहेको छ । पुरानोको ढर्राको राजनितिले विगारेको अवस्था नयाँ राजनितिले सपार्दै देश पनि बनाउँछ । नेताले राम्रो काम पनि गर्छन् भन्ने मूल्य स्थापित गर्न हामीले काम गर्न चाहान्छौँ । जनतामा देखिएको निरासालाई आसा, भरोसा र विश्वासमा बदल्ने संकल्प बोकेर राजनितिमा होमीएका छौँ । त्यो विश्वास स्थापित गर्न जनताको विश्वास चाहिएको छ । हामीलाई आशा छ, आइरहेको मंसिर ४ को निर्वाचनमा जनताले आफ्नो पक्षमा मत जाहेर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाब चिन्ह् घण्टीमा मतदान गर्ने छन् ।

७ – आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि के कस्तो तयारि छ ?

हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी यही २०७९ असार सात गते गठन भइ असार १७ गते निर्वाचन कार्यालयमा विधिवत् दर्ता भएको नयाँ पार्टी हो । हामीले निर्वाचनको पूर्व सध्यामा चुनावी र संगठनात्मक संरचनाको दुबै काम गर्नुछ । यी दुबै काम हामीसंग संगै अगाडि बढाएका छौं । हामी प्रतिको विश्वास र मौजुदा राजनिति दल प्रतिको निरासाले छोटो अवधिमै लाखौँ लाख जनताको साथ पाएका छौं । जनताले लिएको यो उर्जा रचनात्मक काममा लगाउँने छौं । पटकपटक व्यवस्था केर्ने तर, रतनात्मक काम नगर्नेहरुको हाम्रो पार्टीले विरोध गर्दछ । तथापि प्रशासनिक क्षेत्रमा हुने ठूलो व्ययभारको हिंसा ओगोेटेको प्रदेश संरचनामा हेरफेर गर्न चाहान्छ । प्रदेश संरचना कार्यकर्ता भर्ती केन्द्र नहोस्, आवश्यकताको सिद्दान्त अनुसार हुनुपर्दछ भन्ने कुरामा विशेष जोड दिइएको छ । हामी प्रदेश सभाको यो सरचना भित्र बसेर राज्यको व्ययभारको बोझ बन्दैनौँ भनेर प्रदेश सभा निर्वाचनमा हाम्रो सहभागी नगर्ने निर्णयमा पुगेका छौं । जनताको समस्याको उठान गर्ने र समाधानका लागि निकास दिने थलो प्रतिनिधि सभा भएकाले त्यहाँको निर्वाचनमा हाम्रो सहभागीता हुने छ । हामी दलित, अल्पसंख्यक, सिमान्तकृत जनताका मुद्दा, जनताले भोगी रहेको समस्या र ती समस्याको समाधानमा हामी संकल्प लिएर घरदैलोमा पुग्दैछौं । सक्नेलाई छान्ने यो अभियान सफल पार्न समस्त जनमा अनुरोध गर्दछौं । ‘अव नजागे कहिले जाग्ने’ ।

८- अन्त्यमा केहि भन्न चाहानुहुन्छ कि ?

देशभर रहनु भएका जो नेपाललाई भ्रष्टाचार मुक्त बनाउन चाहानुहुन्छ, नेपाललाई सांचिकै नेपाल जस्तो देख्न चाहानुहुन्छ, जो सिष्टममा रहेर देश चलाउन चाहानुहुन्छ हो त्यस्ता युवाहरुलाई म के आग्रह गर्न चाहन्छु भने आउनुस अब ढिला नगरौं, देश खोक्रो भैसक्यो। स्वार्थ रहित भावना बोकेर तपाई हामी एकजुट भएर यी भ्रष्टाचारी नेताहरुका बिरुद्द लडौं, खबरदार गरौँ, ताकि भोलिका हाम्रा सन्ततिले पनि सराप्ने ठाउँ नरहोस् भन्न चाहान्छु । त्यस्तै मेरो र मेरो पार्टीका बारेमा समसामायिक कुराहरु राख्न दिनु भएकोमा तपाई र तपाइको संचार संस्था दाङ समाचारलाई बिशेष धन्यवाद दिन चाहान्छु ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्