दाङ – लमही नगरपालिकाले वडा नं ७, ८ र ९ वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा लिएर किसानलाई बाख्रापालन तर्फ आकर्षित गर्दै आइरहेको छ । दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्तीले स्थानीय सरकारले १४ लाख रुपैयाँ उन्नत जातको बाख्रा खरिदको लागि सहयोग प्राप्त गरेको बताईन ।
लमही नगरपालिका पशु उपशाखा प्रमुख शिवराज न्यौपानेले बाख्रा पकेट क्षेत्रमा बाख्राको संख्या बढाउनको लागि माउ बाख्रा वितरण गरिएको जानकारी दिंदै नगर क्षेत्रमा पशु सेवा केन्द्र थप गर्ने योजनामा रहेको जानकारी दिए ।
स्थानीय सरकारले बाख्रापालन तर्फ आकर्षित गर्दा र अन्य गैरसरकारी संस्थाले सहयोग गर्दा खसी बोकाले बजार नपाएर गोठमै थन्कनु सकरात्मक पक्ष नभएको किसानको भनाइ छ ।
लमही ७ सतबरीया निवासी बाख्रापालक किसान लक्ष्मी चौधरीले आफुले पालेका मध्ये ५० प्रतिशत मात्रै बिक्री हुने र बाँकी खसीबोका खोरमै राख्नु परेको बाध्यता रहेको कुरा सुनाइन । सहकारी संस्थाले किसानसंग खरिद गरी खाद्य संस्थानलाई विक्री गर्दै आइरहेको छ । सतबरिया क्षेत्रबाट मात्रै पाँचसय बढी खसी बोका बिक्रीका लागि तयार छन् ।
उत्पादन अनुसार खसी बोकाले बजार नपाउँदा दाङमा एकहजार भन्दा बढी खसी बोका बिक्री नहुने भएका छन् । कृषकले पालेका खसी बोका खाद्य व्यवस्था तथा व्यापार लिमिटेडले खरिद गर्ने भएपनि यस बर्ष माग कम भएकोले सिमित मात्रामा खरिद गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड तुलसीपुर दाङका अनुसार खाद्यले खरिद गरेपछि पनि कृषकसंग एकहजार भन्दा बढी खसी बोका बिक्रीका लागि मौज्दात रहने भएका हो ।
यस बर्ष चाडपर्व लक्षित गरेर खाद्यले दाङबाट मात्रै सातसय खसी बोका खरिद गर्दैछ । हाल सम्म तुलसीपुर क्षेत्रबाट एकसय ८३, लमही क्षेत्रबाट चारसय १० गरी पाँचसय ९३ खसी बोका खरिद गरिसकेको छ । अब बाँकी दुइसयको संख्यामा मात्रै खाद्यले खसीबोका खरिद गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड तुलसीपुरका शाखा प्रमुख तिलक सुनारले चाडपर्वमा देशैभरीबाट खसीबोका र च्याङग्रा खरिद गरिरहेकाले दाङको कोटा सिमित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्