दाङ – लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिर्जना भएको विवाद उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश पश्चात सकिए पनि नगरपालिकाको खाता संचालन हुन नसक्दा पुनः अर्को समस्या सिर्जना भएको छ । त्यस्तै दैनिक कार्यालय सम्पादनमा समेत समस्या भएको छ ।
हरेक सिजनमा लमही नगरपालिकाले किसानलाई वितरण गर्दै आएको मल, तरकारीका बिउ बिजन, तोरी, मसुरो, गहुँ समयमा किसानले पाउन सकेका छैनन । खाता संचालन हुँन नसक्दा लमही अस्पताल तथा स्वास्थ्य शाखामा औषधि आपूर्तिमा पनि समस्या भएको छ ।
मल, बिउ पाइन्छ कि भनेर किसानहरु हातमा बोरा लिएर नगरपालिका धाउने क्रम भने जारि छ । दिनदिनै नगरपालिका धाए पनि उनीहरु रित्तै हात घर फर्किन बाध्य छन् । चाडवाडका बेला कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् ।
नगरपालिकामा आर्थिक कारोबार नहुँदा फोहोर व्यवस्थापनमा मुख्य समस्या देखिएको छ । फोहोर बोक्ने सवारी साधन बन्द हुने अवस्थामा पुगेका छन । यो बारे हामीले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीसंग बुझ्दा आफुलाई खाता संचालन गर्ने विषयमा नगर प्रमुखसंग बुझ्न जवाफ दिनु भयो।
समयमा किसानलाई मल, बिउ वितरण गर्न नसक्दा आफुहरुले लज्जाबोध भएको कृषि शाखाका सन्तोष खड्काले बताए। किसानलाई खालि हात फर्काउदा दुख लागेको खड्काको भनाई छ। कार्यालयमा समस्या उत्पन्न हुँदा समय ढल्कियो,अब सिजन गैसकेको छ, अब बिउ लिएर किसानलाई खुशी बनाउन सकिंदैन खड्काले भने ।
त्यस्तै केहि दिन अघि आएको बाढीले भत्काएका सडक बाटोहरुको पनि बेलैमा मर्मत हुन सकेको छैन। सबै वडा बाट जेसिवी, डोजर पठाई दिन पर्यो भनेर बारम्बार फोन आउने गरेको तर इन्धन नभएका कारण पठाउन सकेको छैन’- विपत शाखाकी प्रमुख गायत्री थापाले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्