दाङ – क्षेत्र नम्बर १ मा पाँच दलिय गठबन्धनका उम्मेदवारहरुले संविधान मास्नेको पछि नलाग्न मतदातालाई आग्रह गर्नु भएको छ । लमही -३ मजगाउँमा आयोजना गरेको रात्रीकालिन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो ।
सहरी विकास मन्त्री मेटमणी चौधरीले आगामी निर्वाचनमा नेकपा एमाले पत्तासाफ हुने बताउनु भयो । लमही -३ मजगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संविधानको हत्या गर्ने व्यक्ती र पार्टीलाई जनताले चिन्नु पर्ने बेला आएको मन्त्री चौधरीको भनाई छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता, दाङ -१ “ख” का पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले गठबन्धनले चुनाव जिते रोजगारीको सिर्जना हुने बताउनु भयो । आफ्नो बाबू स्वर्गीय खुमबहादुर खड्काले जस्तै आफुले पनि हरेक क्षेत्रमा रोजगारी सिर्जना गर्दै निम्न स्तरका मानिसलाई स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनु भयो ।
रात्रीकालिन सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका संघीय समानुपातिक उम्मेदवार योगेन्द्र चौधरीले खेतिपातीका बेला किसानलाई मल उपलब्ध गराउन नसक्ने केपी ओलीको पार्टी एमालेलाई भोट दिए किसानले अझै दु:ख पाउने दावी गर्नु भयो । त्यस्तै उहाँले कोभिडले नेपाली जनता आक्रान्त भएका बेला बार्दलीमा बसेर टुलुटुलु राम हेरेको समेत केन्द्रीय सदस्य चौधरीले आरोप लगाउनु भयो ।
उक्त कार्यक्रममा एकीकृत समाजवादीका संघीय समानुपातिक उम्मेदवार शिल्पा चौधरी, समाजवादीका समानुपातिक उम्मेदवार लक्ष्मी चौधरी लगायतले सम्बोधन गर्नु भएको थियो ।
सो अवसरमा सांस्कृतिक सहितको रात्रीकालिन कार्यक्रम सम्पन्न भएको छ । लमही नगरपालिका -३ मजगाउँ स्थित खुल्ला मंचमा आयोजित कार्यक्रममा थारु भाषाका कलाकारले थारु भाषाका गीत मार्फत गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने संदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्