एक पटक मौका दिनुस, जनताको सेवक भएर काम गर्ने इच्छा छ – अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २३ कार्तिक २०७९, बुधबार
5 Min Read
Aa

दाङ – आसन्न मङ्सिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङ -१ मा कांग्रेसले अन्य चार दलसंग मिलेर चुनाव लड्दै छ । उसो त् यस क्षेत्रमा कांग्रेसले अन्य दल संग गठबन्धन नगरेर चुनाव लडे पनि आफ्नो अस्तित्व जोगाउन सक्छ तर केन्द्रको सर्कुलर अनुशार कांग्रेसले गठबन्धन गर्ने पर्ने स्थिति आयो। लामो समय सम्म दाङ – १ मा कांग्रेसले आफ्नो किल्ला जोगाएर राख सफल भएको थियो, कारण के हो भन्दा नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको निर्वाचन क्षेत्र हो यो।

दाङका तीन वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुदै छ । दाङ – १ को संघमा गठबन्धनबाट मेटमणि चौधरी र एमालेकी शान्ता चौधरी भिड्दै छन् भने प्रदेश ‘क’ मा गठबन्धनका तर्फ बाट लुम्बिनी प्रदेशका बहाल वाला स्वास्थ्य मंत्री इन्द्रजित थारु र एमालेका गंगाराम भट्टराई विच प्रतिस्पर्धा हुँदै छ भने प्रदेश ‘ख’ मा गठबन्धनका तर्फबाट अनुराग खड्का र एमालेका कुलबहादुर केसी विच टक्कर हुँदै छ ।

अनुराग खड्का नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र हुन् भने केसी लमही नगरपालिकाका पुर्व नगर प्रमुख हुन । खुमबहादुर खड्काका पुत्र भएकै कारण दाङ -१ ‘ख’ प्रदेश बढी चर्चामा छ । अनुरागले बाबुको बिडो थाम्न सक्छन या सक्दैनन् भन्ने विभिन्न अड्कलबाजी काढ्न शुरु भएको छ । नेपाली राजनीतिमा बाबुको बिडो थाम्न राजनीतिमा अग्रसर भएका थुप्रै छोरा छोरीहरु सफल हुन सकेका छैनन् तर खुमबहादुर पुत्र अनुराग भने यो कुरा मान्न तयार हुनुहुन्न । उहाँ भन्नु हुन्छ ‘ हरेकमा स्वभाव र लगनशीलता फरक हुन्छ त्यसकारण मैले बुवाको मार्ग पछ्याउदै हिडेको छु, गन्तव्यमा अवश्य पुग्नेछु ।

दाङ समाचारसंगको कुराकानीमा नेपाली कांग्रेसका युवा नेता तथा गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले एक पटक मौका दिन मतदातासंग आग्रह गर्नु भएको छ । निर्वाचन जितेर सुख सलयलको जिन्दगी बिताउन हैन जनताको सेवक भएर काम गर्ने आफ्नो इच्छा रहेको उहाँको भनाई छ ।

खड्काले भन्नु भयो -‘म जहाँ बसेपनि मेरो घर, मेरो घरपरिवार, इष्टमित्र सबै दाङ सतबरियामै हुनुहुन्छ । चुनाव जित्ने मेरा थुप्रै आधारहरु छन्, यहि क्षेत्र बाट मेरो बुवाले राजनीति शुरु गर्नु भएको हो। यहाको माटोले चिन्दछ, यहाँको पानीले चिन्दछ, यहाँको हरेक विषयले मेरो बुवा स्वर्गीय खुमबहादुर खड्कालाई चिन्दछ। मेरो बुवा देशको एउटा कुशल राजनीतिज्ञ हो, दाङको मान्छे भएपनि पुर्व मेची देखि पश्चिम महाकाली सम्मका जनताले रोजगार पाएका छन्, हरेक जिल्लामा विकासे काम भएका छन् । वर्तमान स्थितिमा मेरो बुवा नभएपनि उहाँको योगदान छ, जनताले उहाँप्रतिको सहानुभूति म प्रति देखाउनु हुनेछ भन्ने विश्वास लिएको छु। यो मेरो पहिलो चुनाव हो, मैले जितेर जनताको काम गर्न सकेन भने जनताले आफै सवक सिकाउने छन ।

नेकपा एमालेका उम्मेदवारहरुले भ्रम सिर्जना गरेको भन्दै उहाँलाई एक पटक सोध्नुस जनताले भोट दिएर नगरपालिकाको विकास गर्नुस भनेर पठाएका थियौं, वितेको पांच वर्षमा के-के काम गर्नु भयो भने । स्थानीय सरकार प्रमुख भएर नेतृत्व गर्दै गर्दा तपाईलाई विकास गर्न केले रोक्यो ? के कारण काम गर्न सक्नु भएन ? यस्ता प्रष गर्ने हिम्मत गर्नुस, पांच वर्ष सम्म सरकारी सेवा सुविधा लिने, जनताको पसिनाले आर्जेको सम्पतिको कर लिने अनि जनताको काम नगर्ने ? त्यस कारण भ्रम सिर्जना गरेर जनतालाई फेरी पनि ढाट्नेहरुसंग जनता सावधान हुनु पर्छ’- उम्मेदवार खड्काले भन्नु भयो ।

युवा छु, युकेबाट मास्टर्स गरेर नेपाल फर्किएको छु, म संग पनि केही योजनाहरु छन्, ति योजनाहरु म निर्वाचित भए पनि लागु हुनेछ म निर्वाचित नभए पनि लागु गराउनका लागि सक्दो पहल थाल्ने छु, उहाँले भन्नु भयो । मैले बारम्बार भनेको छु, मैले हारुला या जितुला, मेरो निर्वाचन क्षेत्रका सबै जनतासंग बेला बेलामा भेट्नेछु, सुख दुख साट्नेछु । जनताले जिताएर पटक पटक सांसद बनाएका अन्य नेता भन्दा म बाट जनताले फरक पाउने छन, त्यसैले यो पटकको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराई दिनु होला’- अनुराग भन्नु हुन्छ ।

स्वर्गीय नेता खुमबहादुर खड्काका शुभ चिन्तकहरु अहिले पनि युवा नेता अनुराग खड्कालाई कुनै पनि हालतमा निर्वाचित गराउनु पर्छ भनेर जोडतोडका साथ लागेका छन । खड्काको निधन पछी दाङ कांग्रेसले गतिलो अभिभावक पाउन नसकेको उनीहरुको बुझाई छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्