काठमाण्डौ – नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जनालाई कारबाहीको सिफारिस गरेको छ ।
पार्टीकाे कार्य समितिले जुम्ला जिल्ला उपसभापति दीपक शाहीसहित सात जनालाई कारबाहीका लागि मंगलबार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो । उनीहरू माथि पार्टीकाे हित र विधान विपरित काम गरेकाे आराेप छ ।
उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गोविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्ना उम्मेदवारविरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले उनीहरूलाई स्पष्टीकरणसमेत सोधेको थियो । स्पष्टीकरण चित्त नबुझेपछि कारबाहीको लागि सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ ।
जुम्लामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कर्णालीका सभापति ललितजंग शाही प्रदेश (क) मा उम्मेदवार छन् । तर शाहीको विरुद्धमा कांग्रेस नेता देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्