दाङ – लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयको फर्निचर लगायतका सम्पूर्ण सामाग्री दाङको देउखुरी ल्याइएको छ । ३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली सोमबार राति स्थायी राजधानी देउखुरी आइपुगेको हो ।
सोमबार राति १०ः३० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको छ ।आइतबारबाट मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुने छ । मुख्य मन्त्रीको वुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ ।
आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि यो साता भित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी आइसक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनु भएको छ ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा नवनिर्वाचित लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ । फोटो र समाचार – ओमप्रकाश गुप्ता

प्रतिक्रिया दिनुहोस्