राजनीतिको त्रिकोणमा देउखुरी

दाङ समाचार
दाङ समाचार २३ मंसिर २०७९, शुक्रबार
8 Min Read
Aa

नवराज सुवेदी ‘मून’

देउखुरी कुनै न कुनै कारण नेपालको राजनीतिक बृत्तमा प्रभावशाली नेतृत्व जन्माउने क्षेत्रमै परिरह्यो । पञ्चायतीकालदेखि प्रजातन्त्र पुनस्थापनापछिका दशकौंसम्म देउखुरीले राज्य सञ्चालकसँग जोड्ने व्यक्तिहरु नपाएको होइन । परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति हुँदा देउखुरीको भूगोल, जनताको अवस्था, आवश्यकता अनि विकासका कुरा राजासँग प्रत्यक्ष राख्न सक्ने हैसियतमा थिए । समग्र चौधरी जातिको बाहुल्यता रहेको देउखुरी लामो समयसम्मै अन्न उत्पादनको भण्डारको हैसियतमै रह्यो ।

सरकारी कार्यालयहरुका संयन्त्रहरु, स्कुल क्याम्पसहरु, अस्पतालहरु, पूर्वाधार विकासका थुप्रै आयामहरुमा दाङ जिल्ला खासगरी तुलसीपुर र घोराही अगाडि बढे पनि देउखुरीमा त्यो किसिमको पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य रुपमा परिर्वतन भने भएन । यसका पछाडि दुईवटा कारण हुन सक्छन् । पहिलो, राजनीतिक नेतृत्व, दोस्रो, राजनीतिक नेतृत्वलाई घचघचाउने चेतनशील समाज ।

शक्ति केन्द्रसँग आफ्नो ठाउँलाई जोड्ने हैसियतमा रहेका परशुनारायण चौधरीले देउखुरी क्षेत्रमा सडक सञ्चाल र सबै भन्दा पुरानो विद्यालय स्थापनालगायतका शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कामहरु भने गरेका थिए ।

खुमबहादुरको उदय

देशमा प्रजातन्त्रको पुनस्थापनापछि देउखुरीका जनताले नेपाली कांग्रेसलाई प्रायः शक्तिको केन्द्रमै पु¥याइरहे । कांग्रेसका खुमबहादुर खड्का सबै भन्दा धेरै समय देउखुरीको भूगोललाई प्रनिनिधित्व गर्दै सत्ता सञ्चालनको बागडोर हाँक्ने हैसियतमा पुगे । कांग्रेस पार्टीको पनि मुख्य भूमिकामा रहे खुमवहादुर, साथ साथै विभिन्न मन्त्रालयहरुको पनि नेतृत्व गरे । धेरैजसो गृहमन्त्रालय सम्हालेर राज्यको स्रोत र साधनमा आफ्नो दरो पकड बनाएका खुमवहादुरले देउखुरी क्षेत्रको पूर्वाधार विकासको क्षेत्र त्यसमा पनि सडक सञ्जाल गाउँ–गाउँमा पु¥याउन, विद्युतीकरणमा र रोजगारीका क्षेत्रमा खासगरी प्रहरी सेवामा युवाहरुलाई पु¥याउन अनि विभिन्न संस्थाहरुमा रोजगारी प्रदान गर्न मुख्य भूमिका खेले ।

समकालीन मुख्य नेतृत्वहरुले आफ्ना क्षेत्रमा गरेका कामहरुको तुलना गर्ने हो भने चाहिँ खुमबहादुरले देउखुरीका लागि औषत काम गरेका हुन् । तर समकालीन सामान्य सांसदको हैसियतमा रहेका नेतृत्वले आफ्ना क्षेत्रमा गरेका कामहरुको तुलना गर्ने हो भने चाहिँ खुमबहादुरले देउखुरीमा उल्लेख्य काम गरेका हुन् ।

खुमबहादुरको ओरालो यात्रा र इन्द्रजीतको उदय

देउखुरीबाट राजनीतिको केन्द्रमा रहँदै गर्दा नेपाली कांग्रेसको केही आन्तरिक कारण अनि केही वाह्य कारण खुमबहादुरको ओरालो यात्रा शुरु भएको देखिन्छ । खुमबहादुरको कांग्रेसभित्रको दबदबा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई समेत चित्त बुझेको थिएन । खुमबहादुर खड्का एकाएक सम्पत्ति शुद्धीकरण अन्तर्गत गठित आयोगको घेराबन्दीमा परे । स्व पूर्वराजा वीरेन्द्रका स्वकीय सचिवले लेखेको पुस्तक मैले देखेको दरबारमा राजा र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीचको सम्वादलाई उधृत गर्दै खुमबहादुर खड्काका विषयमा सम्वाद भएको उल्लेख गरिएको छ ।

काठ तस्करीको आरोपबाट बालबाल बचेका खुमवहादुर खड्का अन्ततः भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परे । कांग्रेसको राजनीतिलाई चलायमान बनाउने हैसियतमा पुगेका खुमवहादुर भ्रष्टाचारको आरोपपछि उनको राजनीतिक यात्रा ओरालो लाग्यो ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नु र दरवारमा गिरिजा पूर्वराजाको सम्वादको अंशले गरेको विजारोपणको एउटा उत्पत्ति थियो भनेर अनुमान गर्ने हरुका लागि भरपर्दो सूचना नै थियो । आफू पार्टीभित्र शक्तिशाली रहिरहनका लागि समकालीन प्रभावशाली साथीहरुलाई सिध्याउने गलत परिपाटीको शिकार खुमवहादुर बनेका हुन् ।

सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीको राजनीतिक चेतनाको उभारले देश गुञ्जिएको थियो । देउखुरीमा त्यतिञ्जेलसम्म खुमबहादुरलाई कडा टक्कर दिन सक्ने नेतृत्व अरु कुनै पार्टीमा थिएन ।

निर्वाचनका बेला देउखुरीको लमहीमा अप्रत्याशित घटना भयो । सातजना युवा प्रहरीसँगको झडपमा मारिए । माओवादीका उम्मेदवार इन्द्रजीत थारु झडप भएको स्थलबाट बालबाल फुत्किए । राति खुमबहादुरले प्रधानमन्त्री गिरिजासँग टेलिफोन सम्वाद गरे र चुनाव स्थगित गर्न आग्रह गरे तर खड्काको कुरा गिरिजाले सुनेनन् अन्ततः खड्काले विविसीसँग कुरा गर्दै आफ्ना कार्यकर्तालाई बुथ प्रतिनिधिको रुपमा नबस्न आह्वान गरे । त्यतिबेलाको तात्तातो माओवादीले घटनामा ज्यान गुमाएका युवाहरुको शवयात्रा गर्दै गाउँ गाउँमा युवाहरु ततायो । अन्ततः खुमबहादुर खड्कालाई पराजित गर्दै इन्द्रजीत थारुले संविधानसभाको यात्रा तय गरे । खुमबहादुरको व्यवस्थापिका यात्रामा बिराम लाग्यो ।

संविधानसभा सदस्य भएका कारण इन्द्रजीत संविधान निर्माणका विषयहरु, ऐन नियमका कुराहरुमा सक्रिय रहे । देउखुरीमा देखिने गरी त्यस्तो उल्लेख्य काम उनको कार्यकालमा पनि भएन ।

खासगरी स्वास्थ्य र शिक्षाका सवालमा खुमवहादुरको ओरालो यात्रासम्म पनि देउखुरी विकट पहाडी जिल्लाहरुको अवस्था भन्दा फरक थिएन । देउखुरीमा क्याम्पस खोल्नुपर्छ, अस्पताल खोल्नुपर्छ भन्दै भर्खर रेश्मीराज कंगाली, घनश्याम सुवेदी, रेशमवहादुर खड्का, नीमबहादुर थापा, दिलीप खनाललगायतका समाजसेवीहरु झोलामा रजिष्टर बोकेर बैठक गर्ने, काठमाडांैमा डेलिगेसन जाने गर्न थालेका थिए ।

पछि देउखुरी बहुमुखी क्याम्पस स्थापना गर्न सफल भए पनि १५ वर्ष अघिको समुदायस्तरमा देउखुरीका जनता स्वास्थ्य उपचारका लागि बुटवल पुग्नुपर्ने अवस्था अझै विद्यमान छ । संयोग नै मान्नुपर्छ अहिले प्रदेश स्वास्थ्य मन्त्री तिनै इन्द्रजीत थारु छन् । उनले अहिले देउखुरीमै सरकारी स्वास्थ्य सेवाको स्तरोन्नति र विकासका लागि प्रयासहरु गरिरहेका छन् ।

प्रदेश मुकाम

लुम्विनी प्रदेशको राजधानी देउखुरी उपत्यका हुने घोषणापछि भने देउखुरीको पूर्वाधार विकासमा उल्लेख्य परिवर्तन आउँदै गरेको छ । सरकारी तवरबाट विभिन्न आयोजनाहरुको घोषणा भएका छन् साथ साथै निजी क्षेत्रले पनि आफ्ना कार्यालयहरुलाई देउखुरीमा केन्द्रित गर्न थालेपछि देउखुरी अहिले चलायमान भएको छ । प्रदेशस्तरका संरचनाहरु निर्माणका कामले थप गतिशील बनाएको छ देउखुरीलाई ।

राजनीतिक अवस्था पनि गजवको बनेको छ अहिले देउखुरीमा । नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित देउखुरी, समयक्रमको विकाससँगै एमाले, माओवादी र कांग्रेसको शक्ति संघर्षको केन्द्र बन्न पुगेको छ ।

त्रिकोणमा मेटमणि, इन्द्रजीत र अनुरागः

एमाले पृष्ठभूमिबाट राजनीतिमा पदार्पण गरेका सम्भावना भएका युवा नेता मेटमणि चौधरी अहिले एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको राजनीतिक पृष्ठभूमिका बीच नयाँ राजनीतिक दलमार्फत चुनावमा होमिएका चौधरी जनताबाट अनुमोदित भएका छन् । थारु समुदायबाट उठेर संघीय मन्त्री बन्न सफल मेटमणिलाई ग्रामीण क्षेत्रका साथै देउखुरीको मुख्य बजार क्षेत्रका मतदाताले पनि पत्याएका छन् । चौधरी समुदायमा देउखुरीबाटै कांग्रेसको राजनीतिमा सक्रिय अर्का युवा नेता योगेन्द्र चौधरी प्रत्यक्ष चुनावमा टिकट नपाएपछि उनका दाई सुरेन्द्र चौधरी उठेको ढकिया चुनाव चिन्हमा धेरै भोट सिफ्ट हुने अनुमान धेरैको थियो तर त्यो अनुमान विपरीत चौधरी समुदायले मेटमणिलाई अनुमोदन गरेका छन् ।

खुमबहादुर खड्काको राजनीतिक विरासतलाई भत्काएर देउखुरीको राजनीतिमा पदार्पण भएका इन्द्रजीत थारुको राजनीतिक सक्रियता पनि बढिरहेको छ । प्रदेशस्तरमा आफ्नो राजनीतिक स्थान प्रभावशाली बनाउन सकिन्छ भन्ने मान्यतासहित लागेका थारु पुनः प्रदेशसभा सदस्यमा विजयी भएका छन् । इन्द्रजीतले देउखुरीमा माओवादीको प्रभावलाई विस्तारै बढाउँदै गरेको देखिन्छ । साथ साथै दशकांैदेखिको कांग्रेसको विरासत त्यसमाथि खुमवहादुर खड्का जस्तो प्रभावशाली नेतापुत्रको रुपमा कांग्रेसको राजनीतिमा देखिएका अनुराग खड्कालाई पनि देउखुरीले यसपटक अनुमोदन गरेको छ ।

खुमबहादुरको बिरासत भत्काएर देउखुरीमा उदाएका इन्द्रजीत अनि खुमबहादुरको विरासत जोगाउँदै आफ्नो पहिचान बनाउन राजनीतिमा लागेका अनुराग अनि एमालेको पृष्ठभूमिबाट आएर नयाँ राजनीतिक दलमार्फत आफ्नो छुट्टै पहिचान बनाउन लागेका मेटमणि तीन फरक–फरक राजनीतिक पृष्ठभूमि, फरक कोण, फरक पहिचानमार्फत अनुमोदन भएका नेतृत्वले देउखुरीको राजनीतिक अभ्यासलाई त्रिकोणात्मक र अत्यन्त चलायमान बनाइदिएको छ ।

त्रिकोणात्मक शक्ति संर्घष, एक अर्को बीचको समन्वय अनि आआफ्नो प्रभाव विस्तारमा लागेका नेतृत्वका बीच दरिलो रुपमा रहेको एमाले जस्तो प्रतिपक्षले देउखुरीको राजनीतिलाई पछिल्लो पाँच वर्ष अत्यन्तै चलायमान बनाउने प्रायः निश्चित छ ।

(लेखक सुवेदी, पूर्वसञ्चारकर्मी हुन् । उनी चुनावी रणनीतिक योजनाका क्षेत्रमा काम गरिरहेका छन् ।)

प्रतिक्रिया दिनुहोस्