सत्ता गठबन्धनको बैठक सुरु

दाङ समाचार
दाङ समाचार १० पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्रीको नाम पेश गर्न राष्ट्रपतिले दिएको समय सीमा घर्किँदै गर्दा वालुवाटारमा प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।

गठबन्धनको बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिना निष्कर्ष सकिएको थियो।

लगत्तै, आइतबार बिहानैबाट दलहरु आन्तरिक तयारीमा जुटेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गरेका थिए भने प्रचण्डले खुमलटारमा।

कसको पक्षमा होला गठबन्धनमा निर्णय ?

वालुवाटारको बैठकअघि कांग्रेस र माओवादीको शीर्ष नेतृत्व तहका नेताहरुले आन्तरिक छलफल गरेका थिए। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेतासँग बालुवाटारमा परामर्श गरेका थिए भने माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा अनौपचारिक बैठक बोलाएका थिए। पार्टीका शीर्ष नेताहरुको छलफल लम्बिएपछि ९ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक ११ बजेदेखि मात्रै शुरु भएको छ।

गठबन्धनबाट आलोपालोमा को पहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन। माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका छन्। कांग्रेसमा ठूलो दलको हैसियतले माओवादीलाई प्रधानमन्त्री नछाड्न तीब्र दबाब छ। शनिबार बालुवाटारमा भेला भएका सांसदहरूले देउवालाई प्रधानमन्त्री नछाड्न दबाब दिएका थिए।

देउवा माओवादीको समर्थनसहित आफू नै प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिरहेका छन्। यदि देउवाले पहिलो चरणमा प्रधानमन्त्री नदिए गठबन्धन छोड्ने प्रचण्डले संकेत गरिसकेको स्रोतको दावी छ। जारी सत्ता गठबन्धनको बैठकले गठबन्धनको निरन्तरता वा यहीँ सकिने हो भन्ने टुंगिने सम्भावना रहेको बताइएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्