काठमाडौँ – नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ। मंगलबार टियु मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले जनकपुरलाई ५ रनले पराजित गर्यो। जारी लिगमा लुम्बिनीको यो ८ खेलमा सातौँ जित हो।
टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि ओपनर हर्मित सिंहले ७३ रनको अर्धशतकीय इनिङ खेले।
त्यस्तै लाहिरु मिलन्थाले ३३ रन बनाउँदा कुशल भुर्तेलले १७ र ह्यारी टेक्टरले १८ रनको नटआउट इनिङ खेले। त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा अनिल साह १० रनमा अविजित रहेका थिए। जनकपुरका सर्फुदीन असरफले ३ विकेट लिएका थिए।
१ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १८ रन चाहिएको जनकपुरले खेल अन्तिम बलसम्म पुर्याएको थियो। अन्तिम बलमा ६ रन चाहिएको अवस्थामा बलर किशोर महतोले योर्कर फालेपछि दोस्रो स्थानमा रहेको जनकपुर ५ रनले पराजित हुन पुग्यो।
जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ रनको नटआउट इनिङ खेले। त्यस्तै, ओपनर तथा कप्तान ट्रेभोन ग्रिफ्त, सरफुदिन असरफ र सन्दीप जोराले समान २६–२६ रन बनाएका थिए। समिउल्लाह सिनवारी १८ रनमा पेभिलियन फर्किए। लुम्बिनिका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २–२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्