दाङ – राजस्व चुहावट नियन्त्रणमा दाङ प्रशासनले थप योजना अघि सारेको छ। जिल्ला राजस्व चुहावट नियन्त्रण समिति दाङ जिल्लाको बैठकले यसका लागि विभिन्न योजना निर्माण गरेको छ । समितिको बैठकले चाडपर्वको बेला हुन सक्ने चोरीपैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले गस्ती परिचालनलाई थप प्रभावकारी बनाउने, आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, सुरक्षा निकायहरूले नियमित एवं आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरेको छ।
राजस्व अनुसन्धान कार्यालयले सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । त्यस्तै भारतकाे बालापुर बजारमा लाग्ने हाटबजारमा चोरीपैठारी तथा राजस्व चुहावटको उच्च जोखिमका कारण आउजाउमा लगाइएको कडाइलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले समितिको पूर्व बैठकका निर्णयहरूको कार्यान्वयन र नियन्त्रणका लागि गरिएका प्रयास एवं चोरी निकासीपैठारी अभियोगमा दर्ता भएको मुद्दाको सम्बन्धमा समेत समीक्षा गरेको छ । `राजस्व चुहावट नियन्त्रणका लागि दाङ जिल्ला प्रशासन निरन्तर लागिरहेको थियो’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो,- । ‘अब थप कडा रूपमा हामी प्रस्तुत हुनेछौँ।’
उहाँले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार, आन्तिरक राजस्व, राजस्व अनुसन्धान, सुरक्षा निकायलाई थप प्रभावकारी रूपमा काम गर्न निर्देशन दिइएको बताउनुभयाे । अन्य कार्यालयहरूले राजस्व चुहावट नियन्त्रण गर्दै आएका छन् । पछिल्लो समय भारतसँग सीमा जाेडिएकाे दाङको काेइलाबास नाकाबाट चोरी निकासीपैठारी रोकिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार लगायतका निकायले चोरी निकासीपैठारीका लागि नियन्त्रण अभियान चलाएका छन् ।
जसअनुसार थप कडाइका लागि केहिदिन अगाडि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बीरबहादुर ओली, सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण भालुवाङका प्रमुख बिनाेद केसी, ४१ नं. रिजर्भ गण अर्जुनखाेलाका प्रमुख अरविन्द्र श्रेष्ठ लगायतले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरूसँग छलफल समेत गर्नुभएकाे छ ।
‘हामीले विगतदेखि नै चोरी निकासीपैठारी नियन्त्रण गर्दै आएका छौँ, त्यसमा हजुरहरूको सहयोग पनि आवश्यक देखिएको छ’, विगतमा भारतीय सुरक्षा अधिकारीहरूसगँको छलफलमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बीरबहादुर ओलीको भनाइलाई उद्धत गर्दै स्रोतले भन्यो, ‘त्यसमा भारतीय सुरक्षा अधिकारीहरू पनि सकारात्मक देखिएका छन ।
जनप्रतिनिधिले भन्सार छुट गर्ने सिफारिस पठाउनु हुन्छ
चाडपर्वको बेला भारतबाट खरिद गरि ल्याइएको सामाग्रीकाे भन्सार छुट गर्न जनप्रतिनिधिले नै भन्सार कार्यालयलाई चिठी लेख्ने गरेको पाइएको छ । जिल्लामा रहेका स्थानीय तहबाट भन्सार छुटकाे लागि पालिकाबाट सिफारिस पठाउने गरेको काेइलाकास नाका भन्सार कार्यालयका प्रमुख बसन्त रजाैरेले बताउनुभयो । उहाँले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पु-याउने बताउनुहुँदै, निजी क्षेत्रको विकासका लागि नीतिमा देखिएका अप्ठ्यारालाई क्रमशः सच्याएर लैजाने प्रतिबद्धता जनाउनु भयाे ।
राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन दाङ र दाङका व्यापार सङ्घबीचको छलफल भारतसँग सीमा जाेडिएकाे दाङको काेइलाबास नाकामा शुक्रबार सम्पन्न भएको छ । लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले राजश्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्