अवैध काठ सहित चार जना पक्राउ

दाङ समाचार
दाङ समाचार ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

दाङ – राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध सालको काठ सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं.९ बस्ने कुल्लु मियाका छोरा बर्ष २२ का सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर बरालको छोरा बर्ष २६ का जुद्ब बहादुर बराल, लाल फुन्जा मगरका छोरा बर्ष ४४ का तिलबहादुर फुन्जा मगर, जिवलाल रोकाका छोरा बर्ष ३६ का टोपबहादुर रोका रहेका छन् ।

शनिवार दिउँसो करिव १२ बजेको राप्ती गाउँपालिका वडा नं.९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने बिषेश सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरिक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरूको साथबाट २९.७६ क्यू.फिटको ११ थान चिरान साल काठ, र ७०.८९ क्यू.फिटको २ थान गोलिया काठ गरि कुल १ लाख बराबरको १००.६५ क्यू. फिट काठ बरामद गरेको छ । उक्त काठ सहित काठको बिड भएको बन्चरो २ थान, फलामको गल २ थान हाते आरा २ थान बरामद गरि डिभिजन वन कार्यालय दाङ (देउखुरी) लाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।

अवैध काठ काट्नेहरुको संख्या अझै धेरै छ भन्ने हामीले सुचना प्राप्त गरेका छौं, त्यसैले हामी कार्यालय प्रमुख सहितको टोली घटनास्थलमै छौं र उनीहरुको खोजि कार्य भैरहेको छ’– डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सुचना अधिकारी छोटेलाल चौधरीले भन्नु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्